च्याटजीपीटी बालबालिकाका लागि असुरक्षित भएको आरोप, फ्लोरिडा राज्यद्वारा मुद्दा दायर

च्याटजीपीटी बालबालिकाका लागि असुरक्षित भएको आरोप, फ्लोरिडा राज्यद्वारा मुद्दा दायर

फ्लोरिडा। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई र त्यसका सीईओ साम अल्टम्यानमाथि बालबालिकाको सुरक्षालाई बेवास्ता गरेको आरोपमा फ्लोरिडा राज्यले मुद्दा दायर गरेको छ। 

च्याटजीपीटी नाबालिगहरूका लागि सुरक्षित नरहेको कुरा कम्पनीलाई थाहा हुँदाहुँदै पनि नाफाका लागि सार्वजनिक सुरक्षामा खेलबाड गरेको दाबी फ्लोरिडाले गरेको छ। च्याटजीपीटीको कथित खतराहरूलाई लिएर ओपनएआईविरुद्ध मुद्दा हाल्ने फ्लोरिडा अमेरिकाकै पहिलो राज्य बनेको छ।

फ्लोरिडाका महान्यायाधिवक्ता जेम्स उथमेयरले सोमबार आयोजित पत्रकार सम्मेलनमा आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘साम अल्टम्यान र च्याटजीपीटीले हाम्रा छोराछोरीको सुरक्षाभन्दा एआईको दौडलाई प्राथमिकता दिएका छन्। उनीहरूले सार्वजनिक सुरक्षाको मूल्यमा नाफा रोजेका छन्, र हामी फ्लोरिडामा यसलाई किमार्थ सहने छैनौँ।’ 

फ्लोरिडाको १० औँ सर्किट अदालतमा दायर गरिएको उक्त देवानी मुद्दामा ओपनएआईमाथि भ्रामक र अनुचित व्यापारिक अभ्यास, लापरबाही तथा उत्पादन दायित्व कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ। मुद्दामा अल्टम्यानलाई व्यक्तिगत रूपमा पनि जबाफदेही बनाउन माग गरिएको छ। कम्पनीको व्यवहारले मानव जीवनमा पुर्‍याएको जोखिमप्रति पूर्ण बेवास्ता गरेको भन्दै उनलाई फ्लोरिडावासीलाई पुर्‍याएको क्षतिको जिम्मेवार ठहर गर्नुपर्ने दाबी निवेदनमा गरिएको छ।

मुद्दामा च्याटजीपीटीमाथि गम्भीर आरोपहरूको चाङ लगाइएको छ। यसले आम नरसंहार गर्नेहरूलाई सहयोग पुर्‍याएको, आत्महत्याका लागि प्रोत्साहित गरेको, सार्वजनिक रूपमा अपमान गराएको र अभिभावकीय निगरानी बिना नै नाबालिगहरूलाई यो औजारको कुलतमा फसाएको आरोप लगाइएको छ। साथै, यसको निरन्तर प्रयोगले प्रयोगकर्ताहरूको तार्किक र आलोचनात्मक सोच्ने क्षमतासमेत गुम्दै गएको दाबी गरिएको छ।

यी आरोपहरूको खण्डन गर्दै ओपनएआईले एक विज्ञप्ति जारी गरी नाबालिगहरूलाई व्यापक सुरक्षाको आवश्यकता पर्ने कुरामा आफूहरू सहमत रहेको र उद्योगकै उत्कृष्ट सुरक्षा नीतिहरू लागू गरेको दाबी गरेको छ। ओपनएआईले भनेको छ, ‘विशेष गरी हामीले हाम्रा उत्पादनहरूमा नाबालिगहरूका लागि प्रत्यक्ष रूपमा सुरक्षा संयन्त्र निर्माण गरेका छौँ। जसमा नाबालिगहरूका लागि थप सुरक्षित अनुभव, उमेर अनुमान गर्ने औजार, उमेर यकिन नभएका प्रयोगकर्तालाई स्वतः सुरक्षित मोडमा राख्ने र अभिभावकहरूलाई आफ्ना बच्चाको एआई प्रयोग निगरानी गर्ने सुविधाहरू समावेश छन्। हामीलाई थाहा छ यी कामहरू औँल्याएर मात्र गुमेको बच्चा फिर्ता आउँदैन, तर हामी यसलाई सच्याउन प्रतिबद्ध छौँ।’

महान्यायाधिवक्ता उथमेयरले अन्ततः ओपनएआईले आफ्नो प्रोग्रामिङ परिवर्तन गर्नुपर्ने र यसबापत कम्पनीले अर्बौँ डलरको क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्ने बताएका छन्। मुद्दामा विशेष गरी ओपनएआईसँग युवा प्रयोगकर्ताहरूका लागि प्रभावकारी अभिभावकीय नियन्त्रण प्रणाली नभएको कुरामा जोड दिइएको छ। 

च्याटजीपीटीको निःशुल्क संस्करणमा उमेर प्रमाणीकरण गर्ने वा कुनै रोकटोक गर्ने संयन्त्र नभएको र बालबालिकाको खातालाई अभिभावकको खातासँग जोड्नुपर्ने अनिवार्य व्यवस्था समेत नगरिएको उल्लेख छ। यदि खाताहरू जोडिएका छन् भने पनि ओपनएआईले अत्यन्तै सीमित अवस्थामा मात्र अभिभावकलाई सचेत गराउने र कुनै पनि हालतमा अभिभावकले आफ्नो बच्चाले च्याटजीपीटीलाई के-कस्ता जानकारी दिएका छन् भनेर हेर्न माग गर्न नमिल्ने व्यवस्था रहेको मुद्दामा उठाइएको छ।

यो देवानी मुद्दा गत अप्रिलमा उथमेयरले सुरु गरेको पहिलो आपराधिक अनुसन्धानकै निरन्तरता हो। गत वर्ष फ्लोरिडा स्टेट युनिभर्सिटीमा भएको आम गोलीकाण्डमा ओपनएआईको आपराधिक जिम्मेवारी छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको छ। उक्त घटनाका आरोपीले सुटिङको तयारीका क्रममा च्याटजीपीटीसँग विश्वविद्यालयमा गरिने आक्रमणका विवरण र हतियार कसरी प्रयोग गर्ने भन्नेबारे विस्तृत कुराकानी गरेको फ्लोरिडाका अधिकारीहरूको आरोप छ।

त्यस समयमा ओपनएआईले सो घटनालाई दुःखद भन्दै अपराधका लागि च्याटजीपीटी जिम्मेवार नभएको प्रष्टीकरण दिएको थियो। ओपनएआईका प्रवक्ताले अप्रिलमा भनेका थिए, ‘यस मामिलामा च्याटजीपीटीले सोधिएका प्रश्नहरूको तथ्यगत जवाफ मात्र दिएको हो, जुन जानकारीहरू इन्टरनेटका सार्वजनिक स्रोतहरूमा सजिलै भेटिन्छन्। यसले कुनै पनि अवैध वा हानिकारक गतिविधिलाई प्रोत्साहन वा प्रवर्द्धन गरेको छैन।’

महान्यायाधिवक्ता उथमेयरले फ्लोरिडाको यस कदममा अमेरिकाका अन्य राज्यहरू पनि चाँडै सामेल हुने विश्वास व्यक्त गरेका छन्। अमेरिकामा एआई कम्पनीहरूविरुद्ध अन्य राज्यहरूले पनि कानुनी कदम चालेका छन्। गत मे महिनामा पेन्सिलभेनिया राज्यले क्यारेक्टर डट एआईविरुद्ध मुद्दा दायर गर्दै यसको च्याटबोटले नक्कली डाक्टर बनेर सर्वसाधारणलाई भ्रममा पारेको आरोप लगाएको थियो। 

त्यस्तै, गत जनवरीमा केन्टकी राज्यले पनि बालबालिकाहरूलाई आकर्षण गरेर आत्महानितर्फ धकेलेको भन्दै क्यारेक्टर डट एआई विरुद्ध नै मुद्दा हालेको थियो। ती कम्पनीहरूले भने प्रयोगकर्ताको सुरक्षा नै आफ्नो मुख्य प्राथमिकता रहेको र नाबालिगहरूका लागि बलियो सुरक्षा सुविधाहरू विकास गरिरहेको बताउँदै आएका छन्।

सीएनएन

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =