दोस्रो पोखरा खेलकुद महोत्सव सुरु, ११ खेल समावेश

दोस्रो पोखरा खेलकुद महोत्सव सुरु, ११ खेल समावेश

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३’ शनिबारदेखि औपचारिक रूपमा सुरुवात भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले खेलकुद व्यक्तिगत स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताए। विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवर्द्धन गर्न सकिए भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो। महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षका बाँकी खेल गतिविधि सम्पन्न गर्ने क्रममा खेल महोत्सव आयोजना गरिएको र आगामी वर्ष पनि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले महोत्सव असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता र पाँच वटा ग्रासरुट तहका खेल कार्यक्रम रहेका छन् । साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेट जस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन् ।

कार्यक्रममा खेलकुद विकास समितिका सल्लाहकार तेजबहादुर गुरुङ, समितिका सदस्य पोषण बहादुर थापा लगायतले खेलकुदको विकास र समावेशी सहभागिताको महत्वबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारी ले गरेका थिए।

महोत्सवअन्तर्गत दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ। यस प्रतियोगितामा टिम ‘बी’ विजेता तथा टिम ‘ए’ उपविजेता बनेका  थिए । विजेता टोलीले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

यो पनि पढ्नुहोस् :  महिला पत्रकारका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सुरु

यसैबीच, मार्सल आर्ट फेस्टिभल २०८३ अन्तर्गतको मुवाथाई प्रतियोगिताको समेत महानगर प्रमुख आचार्यले उद्घाटन गरेका छन्। सो अवसरमा अन्तर्राष्ट्रिय मुवाथाई प्रशिक्षक दीपक श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा सांस्कृतिक नृत्य प्रस्तुतिले थप आकर्षण थपेको थियो। खेलकुद महोत्सवले खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीलाई उत्साहित बनाएको आयोजकको भनाइ छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21840, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =