काठमाडौँ। हाल सिनेमा घरमा प्रदर्शनरत चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक तिमी नभए बोलको गीतमा चलचित्रका मुख्य पात्र जीतु नेपाल र प्रियंका कार्की फिचर्ड छन्। सार्वजनिक गीतमा स्वर शिशिर ठटाल र अन्वेशा दत्तको रहेको छ। प्रकाश महतोको शब्द रचना तथा बबी कुमारको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।
भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा कलाकार बन्न गाउँबाट सहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई प्रस्तुत गरिएको छ । फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ।
चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।










