साउनमा चार नेपाली फिल्मको प्रतिस्पर्धा, सुस्त बजार तताउने अपेक्षा

सुस्ताएको चलचित्र बजारलाई चलायमान बनाउने आशासहित साउन महिनामा चार नेपाली फिल्म प्रदर्शनको तयारीमा छन्।
काठमाडौं । वर्षायाम र खेतीपातीको व्यस्ततासँगै साउन–असारलाई नेपाली फिल्म बजारमा प्रायः ‘अफ–सिजन’ मानिन्छ। यही कारण असारमा प्रदर्शनमा आएका नेपाली फिल्म ‘आई एम जितबहादुर’ र ‘जाँड’ ले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन्। यही शुक्रबारदेखि प्रदर्शनमा आएको ‘भागदौड’ को प्रारम्भिक व्यापार पनि उत्साहजनक देखिएको छैन।
यद्यपि, सुस्ताएको चलचित्र बजारलाई चलायमान बनाउने आशासहित साउन महिनामा चार नेपाली फिल्म प्रदर्शनको तयारीमा छन्। यस अवधिमा ‘गौँथली’,‘लज्जावती’, ‘हली’ र ‘कमला मिस’ दर्शकमाझ आउँदैछन्।
हालसम्मको प्रदर्शन तालिकाअनुसार ‘गौँथली’ साउन १ गते, साउन १५ गते तथा ‘हली’ र ‘कमला मिस’ साउन २२ गते एकै दिन प्रदर्शनमा आउनेछन्। साउन २९ गतेदेखि सिनेमा ‘लज्जावती’ पनि प्रदर्शनमा आउंदै छ।
यी चारै फिल्मले फरक–फरक विषयवस्तु उठाएका छन्। कतै शिक्षाका लागि संघर्षको कथा छ भने कतै जातीय विभेदविरुद्धको आवाज। कुनै फिल्मले मनोवैज्ञानिक द्वन्द्वलाई केन्द्रमा राखेको छ भने अर्कोले सामाजिक रूपान्तरणको सशक्त सन्देश बोकेको छ। त्यसैले साउनका यी विविध कथावस्तुले हलमा दर्शकको चहलपहल बढाउने अपेक्षा गरिएको छ।
‘गौँथली’ ले शिक्षाको अवसर प्राप्त गर्न संघर्षरत एक युवती र वैवाहिक जीवनमा उसले भोग्नुपरेका अप्रत्याशित परिस्थितिलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। डा. कपिल रिजाल निर्देशित यो फिल्म दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको चर्चित ‘गौँथली’ को नामबाट प्रेरित भए पनि नयाँ कथा र समकालीन शैलीमा निर्माण गरिएको हो।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल र सन्जोग रसाइलीलगायत कलाकारको अभिनय रहेको छ।
यस्तै, साउन २२ मा एकै दिन प्रदर्शनमा आउन लागेका ‘हली’ र ‘कमला मिस’ ले पनि फरक स्वादका कथा प्रस्तुत गरेका छन्।
‘कमला मिस’ विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित मनोवैज्ञानिक कथामा आधारित छ। रहस्य, मानसिक द्वन्द्व र मानवीय संवेदनालाई केन्द्रमा राखिएको यो फिल्ममार्फत निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन्। फिल्ममा नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री र आरभ दाहाललगायत कलाकारको अभिनय रहेको छ।
‘हली’ भने सामाजिक परिवर्तनको सन्देश बोकेको कथा हो। वास्तविक घटनाबाट प्रेरित यस फिल्मले एउटा साधारण हलीको साहस, इमानदारी र संघर्षले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिन खोजेको छ। ओम प्रतीक निर्देशित फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की र अर्जुन गुरुङ मुख्य भूमिकामा छन्। साथै दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।
विविध विषयवस्तु र फरक प्रस्तुतिका साथ आउन लागेका यी चार नेपाली फिल्मले वर्षायाममा सुस्त देखिएको घरेलु चलचित्र बजारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

साउन २९ गतेदेखि सिनेमा ‘लज्जावती’ पनि प्रदर्शनमा आउंदै छ। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमाका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित









