ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

मदनकृष्ण श्रेष्ठलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने
काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो।
यस वर्ष २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्ये अनुभवी तथा स्वतन्त्र निर्णायक मण्डलले गरेको निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको आयोजकले जनाएको छ। निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहनुभएको थियो।
मनोनयन सार्वजनिक गर्नुअघि मनोनयनमा परेका चलचित्र तथा चलचित्रकर्मीहरूको परिचय समेटिएको श्रव्यदृश्य (एभी) प्रस्तुति प्रदर्शन गरिएको थियो। त्यसपछि प्रत्येक विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई मञ्चमा आमन्त्रण गरी मनोनयन प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, कलाकार, निर्माता, निर्देशक, लेखक, प्राविधिक, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै बेलायतमा रहेका ईन्फा परिवारका पदाधिकारीहरूको स्वागत तथा शुभकामना भिडियो सन्देशसमेत प्रदर्शन गरिएको थियो।
निर्णायक मण्डलका सदस्य वरिष्ठ अभिनेता हरिहर शर्मा र वरिष्ठ अभिनेत्री गौरी मल्लले ईन्फा अवार्ड निष्पक्ष, पारदर्शी र विश्वसनीय हुने बताउँदै अवार्डको नतिजा निर्धारणमा आयोजकको कुनै पनि भूमिका नरहने स्पष्ट पार्नुभयो। उहाँहरूले सम्पूर्ण मूल्याङ्कन निर्णायक मण्डलले प्रदान गरेको अंकका आधारमा मात्र गरिएको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धाले नेपाली चलचित्र उद्योगलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
निर्देशक तथा अवार्ड चिफ कोअर्डिनेटर मनिष कार्कीले बेलायतमा सफलतापूर्वक सम्पन्न पहिलो र दोस्रो संस्करणको अनुभवलाई आत्मसात् गर्दै यस वर्षको ईन्फा अवार्ड नेपालमै अझ भव्य, सभ्य र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने जानकारी दिनुभयो। उहाँले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै विश्वसामु नेपाली चलचित्रको पहिचान स्थापित गर्ने ईन्फाको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
यसै अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ। उक्त नगद पुरस्कार एचटीआर केयर एण्ड रिक्रुटमेन्टको प्रायोजनमा प्रदान गरिने आयोजकले जनाएको छ।
ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए। तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो। आगामी श्रावण ३० गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









