मिथिला शर्माद्वारा गुरुहरूको नाममा स्थापित सम्मान प्रदान

काठमाडौं। ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना नृत्य र अभिनय यात्राका गुरुहरूको सम्मानस्वरूप स्थापना गरेको विभिन्न सम्मान राजधानीमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको छ।
गत वर्षदेखि सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर बुधबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३’ प्रदान गरिएको छ। त्यसैगरी गायक तथा संगीतकार डा. किरण प्रधान ‘गोपाल योञ्जन संगीत साधना सम्मान २०८३’ बाट सम्मानित भएका छन्।
यस्तै, नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई ‘राजपाल थापा नृत्य साधना सम्मान २०८३’, साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई ‘चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३’ तथा अभिनेता एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक प्रदान गरिएको ‘नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३’ बाट सम्मान गरिएको छ।
कार्यक्रमको विशेष आकर्षण सम्मानित व्यक्तित्वहरूको जीवनयात्रा र कलात्मक योगदान समेटिएको भिडियो प्रस्तुति रह्यो। भिडियोमार्फत उनीहरूका जीवनसाथीको परिचय गराउँदै सफल यात्रामा दिएको साथ र सहयोगप्रति आभार व्यक्त गरिएको थियो। सम्मान ग्रहणका क्रममा सम्मानित व्यक्तित्वका जीवनसाथीलाई पनि मञ्चमा आमन्त्रण गरी संयुक्त रूपमा सम्मान गरिएको थियो।
सम्मान प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षक तथा सम्बन्धित क्षेत्रका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा प्रदान गरेका थिए। कार्यक्रममा कला, संस्कृति तथा संघको गतिविधिमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
संघकी वरिष्ठ सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृति र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन्।
उनले भनिन्, “गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मानको सुरुआत गरेकी हुँ। विगतले अंश माग्दैन। आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर पनि उहाँहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा गुरुहरूबाट आशीर्वाद पाएजस्तो लाग्छ।”
कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले यस्ता कार्यक्रम नाचगानमा मात्र सीमित नभई नेपालको कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण रहेको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई प्रहरी परिवारसँग जोडिराख्न सकारात्मक भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रममा नेपाल प्रहरीसँग आबद्ध पूर्व तथा वर्तमान कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए। वरिष्ठ अभिनेत्री मिथिला शर्माले पनि सरप्राइज प्रस्तुति स्वरूप आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक









