धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

धादिङबेशी,२७ साउन । धादिङमा धार्मिक सहिष्णुता कायम गर्दै सामाजिक सद्भाव र एकता थप बलियो बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । ‘विविधतामा एकता, नेपाली समाजको मौलिकता’ भन्ने नारासहित आयोजित सद्भावना प्रवचन तथा नागरिक समाज भेलामा विभिन्न धर्मका धर्मगुरु, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भेलामा हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्मका धर्मगुरुहरूले आ–आफ्ना धर्मका प्रमुख ग्रन्थ तथा शिक्षामा आधारित प्रवचन दिनुभएको थियो । उहाँहरूले सबै धर्मको मूल सन्देश मानवता, शान्ति, प्रेम, करुणा, सहअस्तित्व र सद्भाव रहेको बताउँदै एकअर्काको आस्था र विश्वासको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
सनातन हिन्दु धर्मका तर्फबाट विश्व हिन्दु महासंघ धादिङका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बौद्ध धर्मका तर्फबाट नेपाल बौद्ध धर्म विश्व शान्ति चक्र संघ धादिङका अध्यक्ष गंगाबहादुर लामा, इसाई धर्मका तर्फबाट धादिङ इसाई समाजका अध्यक्ष लेकबहादुर तामाङ र इस्लाम धर्मका तर्फबाट मुस्लिम समाज धादिङका अध्यक्ष समसुदिन मियाँले प्रवचन दिनुभएको थियो ।
कार्यक्रममा धर्मका नाममा घृणा, अपमान, उत्तेजना, हिंसा वा सामाजिक विभाजन निम्त्याउने गतिविधि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । कुनै धार्मिक विवाद उत्पन्न भए संवाद, सहमति र मध्यस्थतामार्फत शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
धादिङमा हालसम्म धार्मिक द्वन्द्वको अवस्था नदेखिएको उल्लेख गर्दै आगामी दिनमा पनि धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धर्मगुरुहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी धर्मगुरु, नागरिक समाज, विभिन्न संघसंस्था तथा सर्वसाधारणले सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । सोहि अवसरमा आयोजित भेलाले उक्तम कडेलको संयोजकत्मा नागरिक समाज धादिङ गठन गरको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २०, बिहीबार १८:१९‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक २०, बिहीबार १४:१०सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २०, बिहीबार १०:३७बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा अनुभव गर्न पाइने
खेलकुद२०८३ कार्तिक २०, बिहीबार ०८:२५एनपीएलमा आज दुई खेल: लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने









