नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन « रिपोर्टर्स नेपाल

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको छ।
सङ्घीय सरकारको १४ करोड ५० लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो। पृथ्वी राजमार्गसँगै जोडिएको नवनिर्मित १५ शय्याको यस अस्पतालबाट राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भवनको आइतबार शुभारम्भ गर्दै सबै स्थानीय तहको आफ्नै आम्दानीको स्रोत नहुने भएकाले इच्छाकामना आधारभूत अस्पताललाई प्रदेश सरकारले आवश्यक प्राविधिक र जनशक्ति सहयोग गर्ने बताएका छन्। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले अस्पताललाई थप साधनस्रोत सम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यसअघि दारेचोक स्वास्थ्यचौकीबाट सेवा सञ्चालन गर्दा विभिन्न कठिनाइ र अप्ठ्याराहरू भोग्नु परेको उल्लेख गर्दै अहिले सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनले अस्पतालका लागि आवश्यक थप उपकरण उपलब्ध गराइदिन मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीसँग आग्रह गरेका छन्।
अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले विपन्न तथा सुत्केरीलाई निःशुल्क उपचार र आकस्मिक दुर्घटनाका घाइतेलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। यस अस्पतालले गोरखा र धादिङका छिमेकी पालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनामा घाइते भएकाहरूलाई समेत सेवा प्रदान गर्दै आएको छ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, निवर्तमान गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले इच्छाकामना आधारभूत अस्पतालको सेवा विस्तारका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। चितवनको इच्छाकामनासहित धादिङको बेनीघाट रोराङ, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनाका घाइतेहरूको जीवनरक्षामा यस अस्पतालको महत्त्वपूर्ण भूमिका रहेको उनीहरूले बताएका छन्। साथै, वक्ताहरूले यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:४४‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २६, सोमबार ०७:३५नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन « रिपोर्टर्स नेपाल









