सुदूरपश्चिममा खसीबोका बिक्री भएनन्

कञ्चनपुर- चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।
परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । “केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ”, जोगबुढाका किसान जिते धामीले भन्नुभयो, “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।”
चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ । “भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्”, उहाँले भन्नुभयो, “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ ।”
गत असोज ३० गते उहाँले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याउनुभएको थियो । तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् । गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामी बताउनुहुन्छ ।
“खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छन्”, उहाँले भन्नुभयो, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ ।” परशुरामबाट नौजना किसानले एक सय ५० खसीबोका बिक्रीका लागि महेन्द्रनगगर पुर्याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उहाँको भनाइ छ ।
महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गर्नुभयो । “अहिले भीनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसीबोका राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “त्यसैले समस्या छ, ठाउँ उपलब्ध गराए त्यसबापतको पैसा तिर्न पनि तयार थियौँ ।”
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
समाचार२०८२ आश्विन २८, मंगलवार १२:५३कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २८, मंगलवार १०:४९शिविरबाट एक हजार ३७५ लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ आश्विन २८, मंगलवार ०५:२०विश्वकप छनोटः नेपालद्वारा कतार पराजित