नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, १ पुस ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ ।
गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।
सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उहाँले जानकारी दिनुभयो ।
सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन ।
उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उहाँका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ ।
गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ ।
गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो ।
तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमति प्राप्त भइसकिएको छ ।
आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ। विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो ।
विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।
सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा
खेलकुद२०८२ आश्विन २९, बुधबार ०७:३६आज ओमानविरुद्ध भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २८, मंगलवार २०:३०प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई