बैठकमा ‘हुन्छ’ भन्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य छैन: संचारमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अघि बढाएका कार्यक्रमलाई निर्धारित समयभित्रै सम्पन्न गर्नेतर्फ मातहत निकायका प्रमुखलाई निर्देशित गर्नुभएको छ ।
सञ्चार मन्त्रालयमा आज आयोजित अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले भन्नुभयो, “सबैले आत्मसमीक्षा गरौँ, सकारात्मक नतिजा हासिल गर्न दृढताका साथ प्रण गरौँ ।”
चालु आर्थिक वर्ष २०८०÷८१ को बाँकी अवधिसम्ममा निर्धारित काम सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री शर्माले एकअर्काको कमीकमजोरी औँल्याएर नभई जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । “मन्त्री र सचिवको कामजोरी भए पनि खुलस्त भन्नुहोस्, यहाँहरुले पनि आत्मसमीक्षा गर्नुहोस्”, उहाँले भन्नुभयो, “समीक्षा बैठकमा ‘हुन्छ’ भन्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य छैन ।”
मातहतका कार्यालय प्रमुखको ध्यान कार्यालयभन्दा अन्यन्त्र केन्द्रित हुँदा समस्या पैदा भएको उल्लेख गर्दै मन्त्री शर्माले तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । कानुनको परिधिभित्र रहेर निर्णय गर्न निर्देशन दिँदै उहाँले असल मनसायका साथ गरेको निर्णयलाई मन्त्रालयले अभिभावकका रुपमा जिम्मेवारी लिने स्पष्ट पार्नुभयो ।
“अहिले पनि केही कार्यालय प्रमुख अनुसन्धानको घेरामा हुनुहुन्छ, सकारात्मक भावनाका साथ काम गर्दा डराउनु पर्दैन”, मन्त्री शर्माले भन्नुभयो । स्रोतको सुनिश्चितता हुँदाहुँदै पनि प्राथमिकता प्राप्त आयोजनाको प्रगति न्यून हुनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले स्रोतको सीमितताका बीचबाट उत्कृष्ट नतिजा निकाल्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नुभयो । “जुन कार्यक्रमले तत्काल परिणाम दिन्छ, त्यसतर्फ लगानी गर्नुपर्छ” उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालयको समग्र पूँजीगत खर्च अत्यन्त न्यून देखिनु गम्भीर विषय रहेको भन्दै पूँजीगत खर्च वृद्धि गर्ने सामथ्र्यको विकास गर्नुपर्ने बताउनुभयो । पूँजीगत खर्च हुन नसक्नुका कारण खोज्नुपर्नेमा जोड दिँदै उहाँले नवप्रवर्तनका योजनालाई चाँडो कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो । सचिव सुवेदीले चालु आवको बाँकी अवधिमा निश्चित कार्यतालिका बनाएर काम आग्रह गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








