गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप

कास्की, ११ फागुन । गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका नौ महिना उमेर पूरा गरी पाँच वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिने योजना छ ।
गण्डकीमा यही फागुन १३ देखि चैत ७ गतेसम्म सबै स्वास्थ्य संस्था र खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार गण्डकीका नवलपरासी बर्दघाट (सुस्ता पूर्व) जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाको खोप प्रदान गरिने छ भने अन्य बाँकी जिल्लामा नौ महिना पूरा गरी पाँच वर्षभित्रकालाई दिइनेछ ।
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन अन्तिमदेखि मात्र अभियान सुरु हुनेछ । चिसो मौसमका कारण दुई जिल्लामा दुई सातापछि मात्र कार्यक्रम सुरु हुनेछ । “बेलाबेलामा नेपालमा दादुराको महामारी फैलिने गरेकाले यस प्रकारको खोप अभियान अझै प्रभावकारी ढङ्गले गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसैले समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ”, पौडेलले भने ।
गण्डकी प्रदेशसमेत दादुरा रुबेलाबाट अछुतो नरहेकाले खोप कार्यक्रम प्रभावकारी र व्यवस्थित हुने बताइन्छ । हालै मात्र तनहुँको शुक्ला गण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखापरेको पौडेलले जानकारी दिए ।
खोपका लागि प्रदेशमा दुई हजार आठ सय ८९ खोप सेसन सञ्चालन हुनेछन् । खोप लगाउनका लाग दुई हजार आठ सय ८९ जना स्वास्थ्यकर्मी र पाँच हजार सात सय ७८ स्वयंसेवक परिचालित हुने निर्देशनालयले जनाएको छ ।
कास्कीमा ३४ हजार नौ सय २५, लमजुङ नौ हजार आठ सय १५, नवलपरासी एक लाख २२ हजार, तनहुँमा २० हजार चार सय ८०, पर्वतमा आठ हजार छ सय ११ र बागलुङमा २० जनामा खोप दिइनेछ ।
यसैगरी गोरखामा १७ हजार सात सय चार, स्याङ्जा १६ हजार र म्याग्दीमा छ हजार पाँच सय जना बालबालिकालाई खोप दिने योजना रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका मेडिकल सर्भिलेन्स अफिसर डा रामु शर्माले दादुरा रुबेलाको सुई सुरक्षित र प्रभावकारी रहेको बताए । खोपपछि कोही कसैमा सामान्य ज्वरो आए पनि अन्य जटिल स्वास्थ्य समस्या नआउने उनको भनाइ छ ।
“खोपमा कुनै पनि शङ्का छैन । सुरक्षित र अत्यन्त प्रभावकारी समेत छ । डा शर्माले भने, “खोपपछि कसैलाई सामान्य ज्वरो आउन सक्ने भए पनि पछि त्यो आफैँ हराएर जान्छ ।” डा शर्माले खोप लगाएपछि यदी कुनै अवान्छित घटना भई हालेमा उपचारका लागि ९एएफआइ० टोली सबै जिल्लामा खटिएको बताए ।
दादुरा तथा रुबेला दुवै रोग अत्यन्त सङ्क्रामक रहेको र बालबालिकालाई यी रोगले बढी सङ्क्रमण गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । नेपालमा ४५ वर्षदेखि दादुराको खोप र पछिल्लो एक दशकभन्दा बढी समयदेखि रुबेलासमेतको गरी संयुक्त रुपमा १६ हजारभन्दा बढी खोप केन्द्रबाट प्रदान गर्ने गरिएको छ ।
सन् २००४ देखि हालसम्म हरेक चार÷चार वर्षमा अभियानका रुपमा पनि यो खोप लगाइदै आइरहे पनि बेला बेलामा महामारी फैलिने गरेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक







