काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पश्चिम नेपालको बैतडी जिल्लास्थित झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार पाँचथरको चिवाभन्ज्याङ पुरा गरेर औपचारिक रूपमा समापन भएको छ ।
गत मंसिर १४ गते झुलाघाटबाट सुरु भएको १८७९ किलोमिटर लामो यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक र विज्ञ सम्मिलित थिए ।
विशेषगरी, मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न मध्यपहाडी लोकमार्गलाई आधार बनाएर एमाले यात्रामा निस्किएको थियो ।
आइतबार यात्राको समापन गर्दै पार्टी अध्यक्ष ओलीले संकल्प यात्रा देशको माया गर्नेहरूलाई जोड्ने यात्रा रहेकोले यसले विविधतालाई एकतामा बदल्ने र समस्याहरुलाई समाधानमा पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।
‘सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय’ भनिएको समृद्धिका लागि १८ दिनको संकल्प यात्रामा एमालेले के देख्यो ? के बोकेर फर्कँदै छ ?
नेपालटिभीअनलाइनका राजेन्द्र पोख्रेलले एमाले उपमहासचिव प्रदिप ज्ञवालीसँग गरेको कुराकानीको संक्षिप्त अंश:
तपाइँहरुको यात्राको उदेश्य के थियो, जनताको सन्देश के पाउनु भयो ?
हाम्रो दललाई हामी जनतासँग लैजानु नै यात्राको उदेश्य थियो । विशेषगरी मध्यपहाडी क्षेत्रको विकासका संभावनाहरुलाई केलाउनु र जनताका बास्तविक समस्या नजिकबाट बुझ्नु नै हाम्रो यात्राको उदेश्य थियो । यात्राले हाम्रो पार्टीको जनाधारललाई थप बलियो बनाएको छ । अर्कोतर्फ मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा विकास आयोजना र उद्योग, पर्यटन लगायतको सम्भावनाबारे बुझ्ने र नजिकबाट हेर्ने अवसर पायौँ । त्यसमा धेरै चुनौतिहरु देख्यौँ ।
मुख्य चुनौति के-के देख्नु भयो त ?
पहाडमा विकासका प्रचुर सम्भावना छन् भन्ने विषय नजिकबाट देखियो । यी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको पर्यटनको ठूलो सम्भावना छ । जुन हाम्रो देशको लागि अवसरको विषय हो । यसको सदुपयोगबाट समृद्ध राष्ट्र निर्माण सहयोग पुग्छ। पहाडी क्षेत्रका धेरै ठाँउहरु पर्यटन र जलस्रोतको भण्डारका रुपमा छन् । त्यसै खानीहरु छन् जसको प्रयोग गर्न सके राज्यले धेरै लाभ लिन सक्ने अवस्था छ । दु:खद् कुरा त यी तमाम संभावना बीच त्यो क्षेत्रमा देखिएको बसाइ सराइँ भने मुख्य चुनौतिको रुपमा देखियो । कतिपय क्षेत्रमा विद्यालय रित्तिँदै छन् । गाउँ-बस्ती युवाविहीन हुने अवस्था छ । विकास निर्माणका आयोजनाहरुले जुन गति पाउनु पर्ने हो त्यो पाउन सकेको छैन । यो समग्र देशको चुनौति हो । अब राजनीतिलाई उत्पादनसँग नजोड्ने हो भने युवा पलायन र यस क्षेत्रको बसाइ सराइँ रोक्न सक्ने अवस्था छैन ।
तपाइँहरु यात्रा गर्नु पहिले र यात्राकै क्रममा अहिलेको राजनीतिक व्यवस्थाप्रति विरोधका स्वरहरु आइरहेका थिए । ती क्षेत्रमा चाहिँ के पाउनु भयो ?
जनतामा ब्यवस्थाप्रति उपेक्षा होइन, आशा छ । हाम्रो यो यात्रमा जनताको जुन सहभागिता र उत्साह देखियो, त्यो एमालेमाथिको मात्र विश्वास होइन । वर्तमान संविधान,राजनीतिकदल ब्यवस्थामाथिको विश्वास हो । यसैगरी, सबै दलहरु जनताको माझ जाने हो भने व्यवस्था उल्टाउन चाहनेहरु आँफै निस्तेज भएर जाने छन् । काठमाडौँमा बसेर आलोचना गरेर होइन । जनताको वीचमा जाँदा नै ब्यवस्था थप बलियो हुन्छ । जनता लोकतन्त्रको पक्षमा छन्, गणतन्त्रका पक्षमा छन् ।
अब काठमाडौँ फर्किएपछि जनताका सन्देश कसरी सम्बोधन गर्नुहुन्छ ?
यात्राको क्रममा हामीसँग हजारौँ मागहरु जनताले राखेका छन । ज्ञापन पत्रमार्फत ती जनताका मागहरु संकलन पनि भएका छन । यी मागहरुको सम्बोधन र सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराउछौँ । सदनबाट पनि सरकारलाई जनताको माग पूरा गर्न दवाव दिन्छौँ । आवश्यक पर्यो भने सडक आन्दोलन गर्नुपर्ने अवस्था पनि निर्माण होला । जनताले जुन नासो र गुनासो हामीलाई बुझाउनु भएको छ, जसरी हुन्छ त्यसलाई हामीले कार्यान्वनमा लैजाने छौँ ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न