रोहिणी गाउँपालिकामा बालिका बीमा कार्यक्रम सुरु

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले राससलाई बताए ।
बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिक रूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए।
उनले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गरिने बताए । यो कार्यक्रमबाट भ्रूण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास गरिएको उनले बताए ।
रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताए । उनले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभई बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताए।
‘बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ’, उनले भने, ‘अभियानअन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् ।’ यसका लागि कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले रु २० हजार एकपटक राखिदिने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि रु ३० लाख विनियोजन गरिएको जानकारी दिए ।
उनले आव २०७९/८० र २०८०/८१ मा एक सय ९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताए । उनले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ








