घरमै सुत्केरी भए कालो टीका !

बागलुङ, पुस २१। केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ ।
गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।
घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । “गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्यचौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ”, बज्रबाङकी रविना विकले भने, “मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।”
आमा समूहले उक्त अभियान सुरु गरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छ । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिला आफैँले कालो टीकाको नियम लगाएका हुन् ।
“आफैँले बनाएको नियम आफैँले नमान्न भएन नि”, बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भने, “अहिले गर्भवती खोजीखोजी स्वास्थ्य संस्था जाने गरेका छन्”, यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ ।
तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा रु दश हजार खर्च गाउँपालिकालेनै दिने गरेको छ ।
“बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी शून्यमा झारेका छौँ”, बोंगादोभान स्वास्थ्यचौकीका अहेव रविना बुढा मगरले भनिन्, “अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।” स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले सुनाइन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









