Home कला, विचार/मनोरञ्जन ‘अगस्त्य’ को त्रिपाठी चरित्र बाहुबली जस्तै हो : प्रमोद

‘अगस्त्य’ को त्रिपाठी चरित्र बाहुबली जस्तै हो : प्रमोद

0
‘अगस्त्य’ को त्रिपाठी चरित्र बाहुबली जस्तै हो : प्रमोद

काठमाडौं । यही फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका प्राय सबै चलचित्रमा भिलेन चरित्रमा देखिँदै आएका प्रमोदले यो चलचित्रमा ‘त्रिपाठी’ चरित्रमा आफ्नो भिलेन लुक्स दर्शकलाई देखाउँदैछन् ।

ट्रेलरमा समावेश अग्रहरिले बोलेको ‘म आज स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ संवाद दर्शकहरूले औधी मन पराएका छन् ।

प्रमोदका अनुसार चलचित्रको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै हो । अर्थात् सबै कुरा उसकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको इसारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन ।

‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक फिल्ममा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, प्रमोद भन्छन् ।

प्रमोद परासीका हुन् । चलचित्रको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोदको बुझाईमा उनले ‘अगस्त्य च्याप्टर १’को जस्तै कथा परासीमा देखेका छैनन् । ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु । मैले त्यो देखेको क्यारेक्टरलाई मात्र चलचित्रमा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, प्रमोद खुल्छन् ।

प्रमोदले ‘त्रिपाठी’ क्यारेक्टरका लागि राम्रै तयारी गर्नुपरेको रहेछ । ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनु भन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफूल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो’, प्रमोद भन्छन्, ‘म पुषदेखि नै त्यो क्यारेक्टरमै थिएँ । संवाददेखि सबे कुराहरुको तयारी गरिएको थियो ।’

आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छन् भन्ने कुरामा प्रमोद ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ । सामाजिक सञ्जाल होस् या युट्युबमा आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु । किनभने हामीले बनाउने क्यारेक्टर भनेको हाम्रै वरपर समाजमा देखिने क्यारेक्टर नै हुन्’, उनी भन्छन् ।

प्रमोद आफ्ना हरेक चरित्र आफ्ना लागि चुनौतिपूर्ण ठान्छन् । ‘मेरो चरित्र मेरै लागि चुनौतिपूर्ण हुन्छ । त्यसो हुँदा मैले अरुको चरित्रसँग किन चुनौति मान्ने ? यो फिल्ममा रहेका बाँकी ६,७ जना कलाकारबीच एकापसमा राम्रै सहकार्य भयो । मलाई लाग्छ यो फिल्ममा एउटा राम्रो काम भएको छ’, उनी भन्छन् ।

प्रमोद आफ्नो चरित्रका लागि शतप्रतिशत तयारी गरेको दाबी गर्छन् । ‘फिल्मको वर्कसप भएको थिएन, दुई चारपटक स्क्रिप्ट पढें । बीचमा बुवा बित्नुभएपछि घर आउनुपर्यो । उहाँको काम सकेर पछि फिल्म युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें’, प्रमोद भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here