कास्कीमा जिल्ला प्रशासनको वार्षिक प्रगति सार्वजनिक: फेवातालकाे सुरक्षादेखि बजार अनुगमनसम्मका विषयमा प्रश्न

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको योजना सार्वजनिक गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्लास्थित राजनीतिक दल र सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सेवा प्रवाहका सम्बन्धमा तयार पारिएको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति
प्रतिवेदन प्रस्तुत गर्दै सहायक प्र.जि.अ. बरालले गत आर्थिक वर्षमा जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायहरु प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए । जसअन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सफल सुरक्षा व्यवस्थापन, १४५ वटा राजनीतिक कार्यक्रममा सुरक्षा समन्वय तथा ‘अपरेशन ३६५’ मार्फत ७२२ वटा मोडिफाइड र चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिई २९ जनालाई मुद्दा चलाइएको विवरण सार्वजनिक गरियो।
त्यस्तै, लागुऔषध नियन्त्रणतर्फ ४३ केजी गाँजा, १००२ पिस LSD पेपर, ४५१.६ ग्राम ब्राउन सुगर सहित ठुलो मात्रामा फर्मास्युटिकल ड्रग्स बरामद गरिएको र जुवातास नियन्त्रण अभियान अन्तर्गत ४९३ जनालाई पक्राउ गरी ३३ लाख ७६ हजार रुपैयाँभन्दा बढी नगद जफत गरिएको प्रतिवेदनमा उल्लेख छ।
राजस्व र सेवा प्रवाहको अवस्था
प्रशासनले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ९ हजार ७ सय १४ वटा नयाँ नागरिकता र ११ हजार ६४ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। राष्ट्रिय परिचयपत्रतर्फ ४८ हजार ११ जनाको विवरण दर्ता गरिएको छ भने राहदानी वितरण तथा द्रुत सेवा सिफारिसबाट ७ करोड ४२ लाख ९५ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी, ३० पटक गरिएको बजार अनुगमनका क्रममा कैफियत भेटिएका ३८ वटा व्यवसायलाई ७ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सरोकारवालाका जिज्ञासा र गुनासा
प्रगति विवरण सार्वजनिक भएपछि छलफल सत्रमा सहभागी पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरूले कास्कीको समसामयिक समस्याहरूमाथि प्रश्न उठाएका थिए। सहभागीहरूले फेवाताल क्षेत्रमा भइरहेको असुरक्षा र अपारदर्शिता, बजारमा प्रभावकारी खाद्य अनुगमनको अभाव, बढ्दो ट्राफिक असुरक्षा तथा पोखरा सहरमा नगरबसहरूले फाल्ने अत्यधिक धुवाँका कारण बढेको प्रदुषण नियन्त्रणमा प्रशासन किन मौन रहेको भन्दै जिज्ञासा राखेका थिए।
गुनासाहरू अक्षरसः कार्यान्वयन गर्छौँ: प्र.जि.अ. गुरुङ
सहभागीहरूबाट आएका जिज्ञासा, प्रश्न र गुनासाहरूको सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सरोकारवालाहरूबाट आएका सुझाव र गुनासाहरूलाई गम्भीर रूपमा लिइने बताए । उनले फेवातालको सुरक्षा, बजार अनुगमन, ट्राफिक व्यवस्थापन र वातावरणीय प्रदुषण जस्ता संवेदनशील विषयहरूमा तत्कालै आवश्यक कदम चाल्ने र उठेका सवालहरूलाई अक्षरसः कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
प्रशासनले आगामी कार्यदिशामा अभिलेख व्यवस्थापनमा सूचना प्रविधिको उपयोग गर्ने, सेवा प्रवाहलाई थप जनमैत्री र अपाङ्गता मैत्री बनाउने, अन्तरनिकाय संवाद प्रभावकारी बनाउने र लागुऔषध नियन्त्रणका लागि विशेष अभियानको तयारी गर्ने लक्ष्य राखेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22102, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १, शुक्रबार २०:५४कास्कीमा जिल्ला प्रशासनको वार्षिक प्रगति सार्वजनिक: फेवातालकाे सुरक्षादेखि बजार अनुगमनसम्मका विषयमा प्रश्न
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने








