नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया अब ‘क्युआर कोड’बाट

नुवाकोट। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गर्न सुरु गरिएको हो ।
“सेवाग्राहीको सन्तुष्टिको आधार थाहा पाउनदेखि सेवा प्रवाह सुधारको लागि राय सङ्कलन गर्न ‘क्युआर कोड’को उपयोग गरेर प्रश्नावली र खुला दुवै विधिबाट राय सङ्कलन गर्न सुरु गरेका छौँ”, उहाँ भन्नुभयो, “कागजमा लेखेर गुनासो पेटिकामा प्रतिक्रिया दिन झन्झटिलो भएको पाइएसँगै मोबाइलबाट नै प्रतिक्रिया दिन सकिने प्रविधि प्रयोगमा ल्याएका छौँ ।”
प्रशासन कार्यालयले सेवाग्राहीको प्रतिक्रिया सङ्कलनको लागि कार्यालय परिसरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । इन्टरनेटको माध्यमबाट कार्यालयका सबै शाखा तथा सूचना बोर्डमा टाँस गरिएका क्युआर कोड स्क्यान गरेपश्चात् देखिने प्रश्नावलीको छनोट र त्यसमा थप व्याख्यासहितको आफ्ना सुझाव राख्न सकिने गरेर सेवा सञ्चालनमा ल्याइएको प्रजिअ अधिकारीको भनाइ छ ।
“सरकारी सेवा प्रवाहको अवस्था थाहा पाउन यसअघि प्रयोगमा ल्याइएको गुनासो पेटिकामा नागरिकका प्रतिक्रिया कम पर्ने तर, सामाजिक सञ्जालका उपयोगबाट प्रतिक्रिया जनाउनेको सङ्ख्या धेरै हुन थालेसँगै प्रशासनले प्रविधिको उपयोगलाई प्रयोगमा ल्याएको हो”, उहाँले भन्नुभयो, “कार्यालयले दिने सेवा, त्यसको गुणस्तर, कर्मचारीको ब्यवहार, आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयलाई ‘क्युआर कोड’ स्क्यानपश्चात् आउने प्रश्नावलीबाट प्रतिक्रिया जनाउन सकिने छ ।”
अनलाइन माध्यमबाट गरिने गुनासोकर्ताको विवरण गुनासो सम्बोधन अधिकारीबाहेकलाई थाहा नहुने गरेर गोप्य हुने प्रबन्ध मिलाइएकाले निर्धक्क भएर प्रतिक्रिया दिन सहायक प्रजिअ तुलसीराम पौडेलले आग्रह गर्नुभयो । उहाँको अनुसार प्रतिक्रिया दिने सेवाग्राहीको विवरण कार्यालयले गोप्य राख्नेछ भने प्राप्त गुनासोको सम्बोधनपश्चात् सम्बन्धित पक्षलाई त्यसको जानकारी दिइने छ ।
हाल परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको प्रतिक्रिया सङ्कलन माध्यमलाई समयअनुसार संशोधन र प्राप्त प्रतिक्रियाको आधारमा सेवा प्रवाहलाई सुधार गर्दै जिल्लाभरका कार्यालयमा विस्तार गर्ने प्रशासनको योजना छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









