सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्सको दशौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण बनेको पनि स्पष्ट गर्नुभयो ।
“हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौँ”, उहाँले भन्नुभयो, “नागरिक र राज्यका तथ्याङ्क सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौँ ।”
लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आइटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताउनुभयो । “सरकारी तवरबाट सङ्ख्या ष्किन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सीप र सेवा विभिन्न मुलुकमा निर्यात गरिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “लगानीमैत्री नीति र कानुन तथा दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।”
मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरूलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल–इटाली चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो । “यहाँहरू जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ । अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ”, उहाँले भन्नुभयो, “यसमा धेरैभन्दा धेरै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ ।” लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरू तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।
सन् १९५९ अगस्ट ३१ मा नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीचको सम्बन्ध निरन्तर सुमधुर रहँदै आएको स्मरण गराउँदै उहाँले भूकम्पपछि इटालीले प्रदान गरेको सहायता र विशेषगरी सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनःनिर्माणको क्षेत्रमा पुर्याएको योगदानप्रति नेपाल सधैँ आभारी रहने तथा यो सहयोग दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकका रूपमा रहने विश्वास पनि व्यक्त गर्नुभयो ।
पछिल्लो समय नेपाल र इटलीबीच द्विपक्षीय व्यापारको राम्रो सम्भावना बढ्दै गएको उल्लेख गर्दै उहाँले निर्यात बढाउँदै व्यापार सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रूपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या गुणात्मकरूपमा बढाउन आवश्यक रहेको बताउनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
समाचार२०८२ आश्विन २, बिहीबार १७:५८‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको छ: अर्थमन्त्री खनाल