प्रतिनिधिसभाः सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

प्रतिनिधिसभाः सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उहाँको भनाइ थियो ।

“आजभोलि सहकारीपीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताउनुभयो । फुटपाथमा व्यवसाय गर्ने उहाँले सहकारीमा जम्मा गरेको रकम डुबेछ”, उहाँले भन्नुभयो, “ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताउनुभयो । उहाँ प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।”

सांसद गौतमले सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै उहाँले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको बताउनुभयो । उहाँले लाखौ व्यक्तिले दुःख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारीपीडितको पीडा देख्न नसकेको उल्लेख गर्नुभयो । सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्कारुपमा लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीपीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उहाँको भनाइ छ ।

उहाँले सहकारीपीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको बताउनुभयो । जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उहाँको माग छ । ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *