छ प्रकारका सरकारी कागजात सुरक्षण मुद्रण केन्द्रबाट मात्र छपाई हुने

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि छ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।
समितिको आजको बैठकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुङ्गो लगाएको हो ।
राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयकमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट मात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरिएको थियो । समिति बैठकले उक्त व्यवस्थामा अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्र पनि केन्द्रले नै छपाइ गर्ने गरी प्रतिवेदन पारित गरेको हो ।
समितिले प्रतिवेदनमा उक्त सरकारी दस्तावेजबाहेक अन्य सुरक्षण मुद्रणसम्बन्धी कार्य नेपाल सरकारको स्वामित्व वा अधिकांश शेयरभएका निकाय वा संस्थाबाट गर्न सकिने व्यवस्था राखेको छ । केन्द्रले छपाइ गर्ने बाहेकका अन्य सुरक्षण मुद्रण सरकारी स्वामित्व वा अधिकांश शेयर भएका निकाय वा संस्थाबाट छपाइ गर्न नसकिएको अवस्थामा नेपाल सरकारबाट स्वीकृति लिएका निजी क्षेत्रबाट पनि छपाइ गर्न सकिने व्यवस्था गरिएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महत्वपूर्ण सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रले मात्रै छपाइ गर्ने प्रष्ट पार्नुभयो । उहाँले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रबाहेक अन्य सरकारी कागजात सुरक्षित मुद्रणले छपाइ गर्न नसकेको अवस्थामा सरकारी स्वामित्व वा अधिकांश शेयर भएका निकाय वा संस्थाले गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
“यो विकल्पबाट पनि छपाइ गर्न नसकिएको अवस्थामा मात्रै निश्चित मापदण्ड तय गरी प्रतिस्पर्धाका आधारमा मात्रै निजी क्षेत्रलाई पनि दिन सकिने व्यवस्था राखिएको हो”, मन्त्री शर्माले भन्नुभयो, “सिधै निजी क्षेत्रलाई दिने भनिएको भए गम्भीर विषय हुन्थ्यो, तर दुई चरण पूरा गरिसक्दा पनि छपाइ गर्न नसकिएको अवस्थामा छ वटाबाहेक प्रतिस्पर्धाका आधारमा मन्त्रिपरिषद्बाट निजी क्षेत्रलाई दिने व्यवस्था गरौँ ।”
उक्त प्रतिवेदनमाथिको छलफलमा सहभागी अधिकांश सांसदले राष्ट्रिय सुरक्षासँग जोडिएका सरकारी कागजातको छपाइ सरकारले मात्रै गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले उक्त कागजात छपाइको जिम्मा निजी क्षेत्रलाई दिन नहुनेमा जोड दिनुभएको थियो ।
सांसद डा तोसिमा कार्कीले राष्ट्रियताको रक्षार्थ पनि मतदाता परिचयपत्र, विपन्न तथा अपाङ्गतासम्बन्धी परिचयपत्रको पनि सुरक्षण मुद्रण गर्नुपर्ने बताउनुभयो । सांसद कालुराम राईले सुरक्षित मुद्रण राष्ट्रिय सुरक्षासँग जोडिएको उल्लेख गर्दै यसखालका संवेदनशील विषय निजी क्षेत्रको जिम्मेवारीमा छाड्न नहुने बताउनुभयो ।
सांसद देवेन्द्र पौडेलले महत्वपूर्ण सरकारी कागजात सरकारले नै छपाइ गर्नुपर्नेमा जोड दिँदै राज्यले नसक्दा सुरक्षाको सुनिश्चिततासहित अनुमति प्राप्त निजी क्षेत्रलाई पनि दिइनु उचित हुने धारणा राख्नुभयो । सांसद चन्द्र भण्डारीले राष्ट्रिय हितमा आँच नपुग्ने गरी सुरक्षित मुद्रणको व्यवस्था मिलाइनुपर्नेमा जोड दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५५कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल









