सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो

नयाँ वर्षको दिन धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको घुइँचो लागेको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।
समितिका अध्यक्ष फर्सबहादुर केसीका अनुसार सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाध सुपामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ । अन्य दिन दैनिक दुई हजारको हाराहारीमा भक्तजन आउने यस मन्दिरमा नयाँ वर्षको दिन १० हजारभन्दा बढीले दर्शन गरेका उहाँले जानकारी दिनुभयो ।
उक्त मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा रहेको छ । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार आजको दिन तराईका विभिन्न जिल्लाबाट गर्मी छल्न तथा नयाँ वर्षमा सपरिवार रमाइलो गर्न मन्दिर र नरपानी क्षेत्रमा आएका हुन् ।
यो मन्दिर प्राचीन निर्माण सामग्री प्रयोग गरी बनाइएको समितिले जनाएको छ । भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन् । आजभोलि नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट मानिस बढी आउने गरेका छन् ।
शक्तिपीठका रूपमा परिचित सुपा देउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको सन्धिखर्क–८ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । जे भाकल ग¥यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको उहाँको भनाइ छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किलोमिटर दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोचमा प्राचीन शैलीमा उक्त मन्दिर निर्माण गरिएको छ ।
मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकै खालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क तथा धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पुयाउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।
सुपा देउराली मन्दिरमा सङ्कलन हुने भेटीले जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकहरूका लागि तलब प्रदान गर्दै आइएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष चेतलाल पुरीले बताउनुभयो ।
मनको इच्छा पूरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन् । त्यही भेटीबाट सन्धिखर्क–७, खाँचीकोटको आदर्श मावि, शीतगङ्गा–२, सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेका उहाँले जानकारी दिनुभयो ।
भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माणलगायत काममा खर्च भइरहेको समितिका सचिव खनालको भनाइ छ । मन्दिरमा आउने धार्मिक दर्शनार्थीको सुविधाका लागि धर्मशाला पनि निर्माण भइरहेको सन्धिखर्कका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पार्किङ निर्माणका लागि पनि पहल भइरहेको उहाँको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार ११:१५काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै









