‘ऊनको स्वीटर’को अग्रिम बुकिङ आक्रामक, पूर्वी नेपालदेखि काठमाडौँसम्म देखियो उत्साह

काठमाडौं। भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ । विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफुल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्युएफएक्स (लबिम मल, सिभिल मल, भक्तपुरको राधे राधे), बिग मुभिज, एफक्युब लगायतका मल्टिप्लेक्स तथा उपत्यका बाहिरका हलहरूमा पनि अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको वितरकले जनाएका छन् । हलहरूले दर्शकको मागअनुसार शो संख्यामा पनि वृद्धि गरिरहेका छन् । वितरक गोविन्द शाहीका अनुसार शुक्रबारदेखि ‘ऊनको स्वीटर’ देशभर ३०० भन्दा बढी शोमा प्रदर्शन हुँदैछ ।
यसअघि बुधवार साँझ राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित भव्य प्रिमियरमा चलचित्रप्रति दर्शक तथा विशिष्ट अतिथिहरूको उत्साह झल्किएको थियो । उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद शोबिता गौतम, विनीता कठायत, असिम शाह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्री केकी अधिकारी, अञ्जना बराइलीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रममा चलचित्र हेरेपछि सबैले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
चलचित्रमा प्रमुख कलाकारको रूपमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय रहेको छ । पाँचथर र फालेलुङ क्षेत्रको परिवेशमा छायाङ्कन गरिएको यस फिल्मले नेपाली समाजको विविधता र प्रेमकथालाई समेट्ने प्रयास गरेको निर्देशक नवीन चौहान बताउँछन् । उनले प्रिमियरमा दर्शकबाट प्राप्त आत्मीय प्रतिक्रियाले आफूलाई ‘न्यानोपन’ दिएको बताएका थिए ।
सुजन चापागाईं र झुमा लिम्बुको संगीत निर्देशनमा तयार पारिएका “फूल”, “मखमली” र “काफ्ले” जस्ता गीतहरूले सामाजिक सञ्जालमा पहिल्यै लोकप्रियता हासिल गरिसकेका छन् । ट्रेलर र टिजरमार्फत चलचित्रले दर्शकको ध्यान तान्न सफल भइसकेको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्र ‘ऊनको स्वीटर’ ले शुक्रबारबाट दर्शकको माया कति पाउँछ भन्ने प्रतीक्षामा छ । तथापि हालसम्मको प्रतिक्रियाले यसले नेपाली बक्स अफिसमा उत्साहजनक सुरुवात गर्ने सङ्केत देखिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ०९:४५२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल









