Breaking News
समाचार हटाउने अदालतको आदेश र पत्रकार पक्राउ पुर्जीबारे काउन्सिल सुक्ष्म अध्ययनमा

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत (सहप्रवक्ता) रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यससँग सम्बन्धित विषयमा सुक्ष्मरूपमा अध्ययन गर्दै काउन्सिलले सम्बद्ध निकायसँग छलफल गरिरहेको छ ।’

काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीका साथै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको समेत अनुगमनगर्दै आएको छ । काउन्सिलले कार्यविधि बनाएर युट्युबलाई समेत सञ्चार माध्यमअन्तर्गत सूचीकृत भइ सामग्री सम्प्रेषण गर्ने प्रावधान राखेको छ । यसरी सूचीकृत युट्युबका सामग्रीको अनुगमन पनि हुने गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘ विभिन्न युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्यले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ११ बमोजिम युट्युब च्यानलको व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएपछि अनलाइन सञ्चार माध्यमको रूपमा दर्ता भइ सूचीकरणमा आएका सञ्चार माध्यमको विवरण फाराममा आबद्ध सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेज) विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम सूचीकृत मिडियाअन्तर्गत आबद्ध भएको मानी अनुगमन हुने गरेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले कानुनीरुपमा सञ्चार माध्यमअन्तर्गत नरही सम्प्रेषित सामग्री आचारसंहिता विपरीत देखिए सम्बन्धित निकायमा पत्राचार गर्ने गरेको छ । पत्राचारअघि आचारसंहिता उल्लङ्घनबारे सञ्चालकलाई जानकारी गराइ सूचीकृत हुन सचेत गराउने गरेको सहप्रवक्ता बोहराले बताउनुभयो ।

‘मिडियाअन्तर्गत आबद्ध नभएका तर सञ्चार माध्यमकै प्रारूपमा सञ्चालनमा रहेका सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट÷अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा सम्बन्धित निकायमा पत्राचार गर्ने गरिएको छ ।’ बोहराले विज्ञप्तिमा भन्नुभएको छ, ‘त्यसपूर्व सम्बन्धित च्यानलका सञ्चालकलाई आचारसंहिता उल्लङ्घनबारे जानकारी गराइ आपत्तिजनक सामग्री सम्प्रेषण नगर्न निर्देशन दिँदै सूचीकरण गरी सञ्चालन गर्न समेत सचेत गराउँदै आइरहेको छ ।’

यस्तै काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबारे काउन्सिलमा उजुरी गर्ने र काउन्सिलको निर्णय चित्त नबुझे अदालत जान सक्ने विषय पनि प्रस्ट पारेको छ । ‘सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्नसक्ने र काउन्सिलको निर्णय चित्त नबुझेमा अदालतमा जान सकिने हुँदा यसतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ । काउन्सिलले दर्ता सूचीकरण गरेर मात्रै मिडिया सञ्चालन गर्नसमेत जोड दिएको छ ।

समाचार हटाउने अदालतको आदेश र पत्रकार पक्राउ पुर्जीबारे काउन्सिल सुक्ष्म अध्ययनमा

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/06/12/9771/, www.presscouncilnepal.gov.np

काउन्सिलका नवनियुक्त सदस्यहरूको स्वागत

पत्रकारितामा विकसित घटनाक्रमबारे काउन्सिलले धारणा सार्वजनिक गर्दै

काउन्सिलका नवनियुक्त सदस्यहरूको स्वागत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ । काउन्सिल सभाहलमा भएको स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ सदस्यहरूको कार्यकाल रचनात्मक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन)लाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधि लगायत सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घ अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिलको काम, कारबाही, भूमिका र आगामी कार्यनीतिबारे जानकारी हासिल गर्न सघाउने उल्लेख गर्नुभयो ।

नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै काउन्सिलका सदस्य विजयराज अधिकारी, केशवशरण लामिछानेले नयाँ सदस्यहरूसँगको सहकार्यबाट काउन्सिललाई गतिशील बनाउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरूले विद्यमान ऐन, कानुन र नीतिको अधिनमा रहेर प्रेस स्वतन्त्रताको संरक्षण गर्दै नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन, काउन्सिलको भूमिका अझै सशक्त र चलायमान गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले गत जेठ १२ र १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट काउन्सिलको रिक्त सदस्य पदमा ६ जनालाई नियुक्त गरेको थियो । कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरासहित विभिन्न शाखाका प्रमुखले काउन्सिलका सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै उहाँहरूको कार्यकाल सफल बनाउन सचिवालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबिच स्वागत कार्यक्रमपश्चात पछिल्लो समय पत्रकार पक्राउ पुर्जी जारी भएको तथा प्रकाशित समाचार हटाउनका लागि अदालतले आदेश दिएको विषयमा गम्भीर छलफल भएको छ । छलफल पश्चात पत्रकारिता क्षेत्रमा विकसित घटनाक्रमबारे काउन्सिलले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तय भएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/06/12/9745/, www.presscouncilnepal.gov.np

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा  उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले ।

हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ जसका कारण भक्तजन आनन्दित हुने गरेका छन् । उनीहरू कार्यक्रम उद्घोषणसँगै कोटिहोममा आउने सबै उमेर समूहका भक्तजनसँग घुलमिल हुने क्षमता पनि उत्तिकै छ र त भक्तजनको अपार माया पाएका छन् ।

कोटिहोममा यी दुई भाइले लगातार कार्यक्रम उद्घोषण गरिरहेका छन् । बिहानको समयमा दीप काफ्ले र मध्यान्हको समय पछि कोष भारद्वाज । लगातार कार्यक्रम उद्घोषण गर्दै गर्दा पनि उनीहरूको स्वरमा कुनै समस्या छैन । उनीहरूको कोकिल स्वर जब कोटिहोममा गुञ्जायमान  हुन थाल्छ तब पोखरा जारी कोटिहोमले थप रौनकता पाउँछ । कोटिहोम दर्शन गर्न आउने भक्तजन दुई जनाको उद्घोषण गर्ने शैलीको खुलेर तारिफ गर्ने गरेका छन् ।

सल्यान जिल्लाको साबिक काल्चे गाविस हात्तिदमारमा जन्म भई हाल बाँके जिल्लाको कोहलपुर नगरपालिका वाड न १३ मा स्थायी बसोबास गरी उद्घोषण कलालाई जीवनको मेरुदण्ड  बनाइएका सु–प्रसिद्ध उद्घोषक कोष भारद्वाज अध्यात्म क्षेत्रको एक सशक्त र कर्मनिष्ठ नामको रूपमा आफूलाई परिचित गराएका छन् ।

२०६८ सालबाट रेडियो कोहलपुर एफ.एमबाट उद्घोषण सुरु गरेका भारद्वाज विभिन्न अद्यौगिक व्यापार मेला, धार्मिक तथा शैक्षिक महोत्सवमा कार्यक्रम सञ्चालन गरी आफूलाई अब्बल बनाएका छन् । उनको जादुमय वाक्पटुताले सबैको मन छोएको छ ।

भारद्वाजले वैदिक सनातन धर्म जागरणमा महत्त्वपूर्ण योगदान पुर¥याउदै आएका छन् । उनको वाक्पटुताले योगदानको कदर गर्दे धेरै धार्मिक तथा अन्य संघ संस्थाबाट सम्मान पाइसकेका छन् । उनै हँसिलो स्वभावका भारद्वाज पोखरामा जारी कोटिहोमको मञ्चमा उभिएर जब कोकिल स्वरमा सबैलाई जय जयकारका वाणी प्रस्तुत गर्छन् सहभागी भक्तजनहरूबाट दुई हात माथि उचाली उनकै पछि जोडले जय जयकारको गुञ्जायमान छुट्छ । नेपालमा नै भारद्वाजका जसरी उद्घोषण गर्ने व्यक्ति कमै जन्मने भक्तजनले बताउने गरेका छन् । उनै भारद्वाजको बिहिवार(आज) जन्म दिन पनि रहेको छ । उनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाई जन्मदिनको शुभकामना दिएका थिए ।

यस्तै नवलपुरको कावासोती नगरपालिका –६ मा धार्मिक सामाजिक परिवेशमा जन्मे हुर्केका दीप काफ्लेको साङ्गीतिक यात्रा भजनबाट नै प्रारम्भ भएको हो । गाउँ घरमा भजन गाउने र अभिनय गर्ने विभिन्न प्रतियोगितामा सहभागी भएर धेरै ठाउँमा विजेता समेत भए । बिस्तारै भजनमा हिंड्न् थाले  जसले गर्दा अखण्ड भजन लोक चुड्का गाउँदै उनले आफूलाई सशक्त बनाउँदै लगे । यसैको फलस्वरूप उनी अहिले सफल उद्घोषकको उपमा पाएका छन् । 

आफूलाई साङ्गीतिक क्षेत्रमा पनि अगाडि बढाइरहेका उनी गाउँको दुर्गा मन्दिरमा हरेक वर्ष हुने  भागवतमा होस् वा दसैँको बेला हुने देखाइने देवी लीलाका झाँकीमा सहभागिता रहन्छ ।  गाउँमा बुढा पाकाले भजन गाउने अनि झाँकी लीला देखाउने कार्यमा पनि दीप सरिक हुन्छन् जसका कारण उनी सबैको लोकप्रिय बन्दै गएका छन् । 

ठूलठूला धार्मिक महोत्सवमा भागवत, धनधान्यान्चलमा गायन अभिनय, कार्यक्रम सञ्चालन गर्दै देशका धेरै जिल्लासँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले अवसर पाएका छन् । उनी हार्मोनियम, मादल, खैजेडी, मजुरा जस्ता बाध्य बाजन बजाउन माहिर छन् ।

भजन गाउँदा गाउँदै उनको रुचि मोडलिङतर्फ मोडियो र उनै दीपले एक दर्जन जति म्युजिक भिडियो समेत गरेका छन् । अग्लो उचाइ, मुहारमा झ्वाम्म दारीमा देखिने दीप शालीनता र आफ्नो मुस्कानसहितको प्रस्तुतिमा जब पोखरको कोटिहोममा आधे आधे होइन के आम राधे राधे भन्दै गर्दा कोटिहममा सहभागी भक्तजन जोडले भन्छन् राधे राधे । कलाकारितासँगै विभिन्न सामाजिक कार्यमा समेत सहभागी हुने गरेका दीप धेरै ठाउँमा सम्मान पाइसकेका छन्।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पनि यी दुई भाइलाई खुलेरै तारिफ गर्ने गरेका छन् । ‘उहाँहरूको उद्घोषण कलाको हामीले जति नै तारिफ गरे नि कमी हुन्छ’ महाराज भन्छन्, ‘कोटिहोमलाई उद्घोषणको कला मार्फत सफल बनाउनका लागि उहाँहरूको योगदान अतुलनीय छ ।’ दुई महिना लामो उद्घोषणको जिम्मा लिएका यी दुई भाइको चर्चा यति वेला जता ततै चलेको छ ।

पोखरामा पर्यटन जनशक्ति र गाइड तालिमबारे अन्तरक्रिया हुने

पोखरा । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले गण्डकी प्रदेशमा विभिन्न पर्यटन संघसंस्थासँगको सहकार्यमा सञ्चालन गर्दै आएको गाइड तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।

यसै सन्दर्भमा गाइड तालिमको प्रभाव, वर्तमान चुनौती र सम्भावनाबारे गहन छलफल गर्न शुक्रबार बिहान ११ बजे नेपाल पर्यटन बोर्डको सभाहल, पोखरामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

यस कार्यक्रमको तयारीका लागि आज ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको सचिवालयमा पूर्वचर्चा सम्पन्न भएको छ। छलफलमा नाथम, टान गण्डकी, पोखरा पर्यटन परिषद्, नाटा गण्डकी, विभिन्न पर्यटन मजदुर संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूको भनाइमा आधारित रहेर कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउने रणनीति तय गरिएको बताइएको छ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले गाइड तालिमले नेपाली युवाहरूलाई व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुगेको बताए। ‘यो अन्तरक्रिया कार्यक्रमले जनशक्तिहरूको अनुभव र समस्या बुझ्न सहयोग गर्छ, साथै भविष्यको बाटो खुल्छ,” उनले भने।

पोखरामा पर्यटन जनशक्ति र गाइड तालिमबारे अन्तरक्रिया हुने

नाथमका तालिम संयोजक अजय ढकालले तालिममार्फत सयौं युवालाई रोजगारीमा जोड्न सफल भएको जानकारी दिए। ‘हाम्रो उद्देश्य व्यावसायिक गाइड उत्पादन गर्नु हो। यो अन्तरक्रियाले तालिम अझ सुधार गर्न सहयोग पुर्‍याउनेछ,’ उनको भने ।

नाथमका तालिम अधिकृत रतन साउदले तालिमको प्रभावकारिता झल्किँदै गाइडहरूमा सीप र आत्मविश्वासको स्तर उच्च भएको बताए। उनका अनुसार गुणस्तरीय तालिमका कारण गाइडहरूले प्रभावकारी सञ्चार र पर्यटकसँगको व्यवहारमा सुधार देखिएको छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पारीले दक्ष गाइड विना पर्यटकलाई सन्तुष्ट गराउन नसकिने धारणा राखे। ‘पोखरा जस्तो विश्वगन्तव्यमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिन सक्ने गाइड आवश्यक छन्, जसका लागि यस्ता तालिम र छलफल उपयोगी छन् ।’ उनले भने ।

कार्यक्रम सञ्चालन जिम्मेवारी सम्हाल्नुभएका टान गण्डकीका सह-सचिव भूपेन्द्र लामाले अन्तरक्रिया कार्यक्रममा सरोकारवाला सबै पक्षलाई सहभागी गराइएको जनाउँदै यसले समस्याको समाधान र अवसरको पहिचानमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूको केन्द्र हो। फेवा तालदेखि अन्नपूर्ण बेसक्याम्पसम्मका क्षेत्रहरूमा पर्यटकहरूको अनुभव अझै समृद्ध बनाउन दक्ष गाइडहरूको खाँचो हुँदै आएको छ।

टान गण्डकीको नेतृत्व, नाथम, पोखरा पर्यटन परिषद्, नाटा गण्डकीलगायतका संस्थाहरूको सहकार्यमा आयोजना हुने यो अन्तरक्रिया कार्यक्रमले गाइड तालिमको सुधार, रोजगारी सिर्जना, सेवा गुणस्तरमा सुधार, र पर्यटन विकासका लागि नयाँ रणनीति तय गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18591, citypokhara.com