‘बलिदान’ को टिजर सार्वजनिक, क्रोध र देशभक्तिको ज्वाला

काठमाडौं। चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको तृष्णा जगाएको छ।
यस वर्षको बडादसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रको टिजरको सुरुवातमै देशको एक अंश शत्रुको निशानामा परेको उद्घोष सुनिन्छ। पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ प्रस्तुत हुन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको दमदार स्वर गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यस बलिदानको अर्थपूर्ण यात्राको कथा सुनाउँछन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको अवतारमा छन्।
अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्र बनेको छ “जब निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धर्तीमा अब त्यस्तो युगपुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्?” कालीमाताको विशाल मूर्तिको अगाडि बोलेको यस संवादसँगै जंगलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जहाँ निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा उपस्थित छन्।
अभिनेता समीर भट्टको प्रवेशसँगै टिजर थप तिव्र बन्छ। उनलाई ‘एक्सन किङ’ का रूपमा प्रस्तुत गरिएको छ, जसमा उनका शक्तिशाली एक्सन दृश्यले दर्शकलाई रोमाञ्चित बनाउँछन्। उनका संवाद “यो आमा न लाचार छ, न यो आमाको कोख खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” सहितको मुक्केबाजी दृश्य टिजरको मुख्य आकर्षण बनेको छ। अन्त्यतिर उनको ठुलो भालासँगको एक्सन दृश्य र शीर्षक खुलासाले टिजरलाई चरम उत्कर्षमा पुर्याउँछ।
टिजर सार्वजनिक गर्दै निर्देशक सेनले भने, “‘बलिदान’ केवल चलचित्र होइन, हरेक नेपालीको मनको विद्रोह हो। तीन वर्षको रगत-पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ न्यायको विस्फोट हो।”
‘आसुसेन फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









