भदौ २० गतेदेखि ‘रिमै’ प्रदर्शन : गुरुङ संस्कृतिको कथा पर्दामा

पोखरा । नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो ।
सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् । कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा बोल्दै कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथाको प्रतिनिधित्व गर्ने चलचित्र भएको उल्लेख गरे । मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको भनाई उनको छ । ‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिने उनले प्रष्टाए । उक्त सिनेमामा आफु एक कठोर बुबाको भूमिकामा देखिएको उनले बताए ।
चलचित्रकी मुख्यपात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताइन् । “ रिमै मेरो लागि विशेष फिल्म हो। पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिती मिलेकाले पहिलो पटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको छु। अपेक्षा भएर नै यो सिनेमा गरेकी हुँ।”, उनले भनिन् ।
कबड्डी पछि लामो समय सिनेमामा नदेखिएता पनि आफु उक्त क्षेत्रबाट बाहिर भने नभएको उनले उल्लेख गरिन् । कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने भनाई उनको छ ।
सिनेमा क्षेत्रमा सुरुवाती पलमा उत्साह धेरै भएता पनि समयक्रम अनुसार घट्दै जाने उनले बताइन् । “सुरुवाती पलमा उत्साह धेरै हुन्छ। पछि–पछि कम्प्रोमाइजका कुरा आउँछन्।”, उनले भनिन् । रिमैको कथावस्तु दर्शकलाई मन पर्नेमा उनि आशावादी छिन् ।
कलाकार डिबी गुरुङले सिनेमाले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “रिमै नेपाली सिनेमामा मौलिकताको खोजी हो, जसले हरेक दर्शकलाई आफ्नोपनाको भाव दिनेछ।”
कार्यकारी निर्माता बिरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको उल्लेख गरे । करिब ३ करोड लगानीमा निर्माण भएको उक्त सिनेमाले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास उनको छ । ‘रिमै’ को छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएको उनले बताए । उनका अनुसार यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास गरेको छ । सिनेमामा सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको उनले बताए ।
उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी देखिएका छन्। दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा फरक अध्याय बन्ने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19401, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







