सरसफाईमा जुटे वन मन्त्रालयका कर्मचारी, आगजनीबाट ७८ सालदेखिका सबै स्रेष्ता नष्ट

पाेखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतकाे वन तथा वातावरण मन्त्रालयका कर्मचारी शनिबारदेखि मन्त्रालयकाे सरसफाई जुटेका छन् । जेनजी नामक समूहले गरेकाे आन्दाेलनका क्रममा गत मंगलवार मन्त्रालयमा आगजनी गरेपछि मन्त्रालयको अवस्था अव्यवस्थित बनेको थियो।
दुई दिनसम्म प्रहरीले मुचुल्का उठाएपछि कर्मचारीहरूले कार्यालय सफा गर्ने कार्य सुरु गरेका हुन्। आगजनीका कारण मन्त्रालयमा रहेका झण्डै २५ वटा कोठामध्ये लेखा शाखा र दर्ता–चलानी शाखा पूर्णरूपमा जलेर नष्ट भएका छन् भने कतिपय काेठाहरु आंशिक रुपमा जलेका छन् ।

यससँगै २०७८ सालदेखि २०८२ भदौ २४ गतेसम्मका सम्पूर्ण स्रेष्ता (फाइल र अभिलेख) जलेर नष्ट भएकाे प्रदेश सचिव मोहनराज काफ्लेले जानकारी दिए । उनका अनुसार मन्त्रालयका ल्यापटप, प्रिन्टर, फ्रिज, फेन लगायतका सामग्री चोरिएका छन् भने केही उपकरण जलेर नष्ट भएका छन्। स्टोर शाखामा समेत तोडफोड भई सामान चोरी भएको छ। मन्त्रीको च्याम्बर तथा दराजसमेत तोडफोड गरिएको छ। ताला तोड्न नसकेका कोठामा भने झ्यालका सिसा फुटाइएको छ।

मन्त्रालयमा रहेका पाँच वटा सरकारी गाडी पूरै जलेर नष्ट भएका छन् भने एउटा गाडीमा तोडफोड भए पनि जलेको छैन। साथै आठ सरकारी मोटरसाइकल र चार स्कुटर जलेर खरानी भएका छन्।

मन्त्रालय परिसरमा रहेका किचन र सुरक्षा गार्ड बस्ने दुई कोठासहित सबै फर्निचरमा आगलागि र तोडफोड भएको छ। केही प्रयोग गर्न मिल्ने भए पनि अधिकांश सामानहरु जलेर नष्ट भएका छन्।
किचनका भाँडाकुडा समेत चोरी गरी लगिएको र फेरि आईतवार बिहान ल्याएर राखिएको घटना समेत देखिएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। किचनमा भएका जुठा भाँडासमेत चाेरी भएकाे घट्नाले सबैलाई अचम्मित पारेकाे छ । तर कति सामान चोरी भयो र कति फिर्ता ल्याइयो भन्नेबारे यकिन विवरण भने आउन सकेको छैन।

प्रदेश सचिव काफ्लेले आगजनीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताए। उनका अनुसार प्रारम्भिक रुपमा कार्यालयका संरचना, फर्निचर, सवारीसाधन र अभिलेखमा ठूलो क्षति पुगेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19580, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार १२:४८कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग







