‘मायामा मायामा’ गीत सार्वजनिक : पोखराबाट बनेको प्रेमिल कथा

‘मायामा मायामा’ गीत सार्वजनिक : पोखराबाट बनेको प्रेमिल कथा

पोखरा ।

डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ ।

भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन् । लमजुङको मस्र्याङदी गाउँपालिकास्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी हाइड्रोपावर, पीस हिल रिसोर्ट लगायतका आकर्षक दृश्यहरू तथा कास्कीको अस्ताम र फेवाताल वरिपरिका स्थानमा छायांकन गरिएको यस भिडियोले दर्शकलाई प्राकृतिक सौन्दर्य र भावनाको मिश्रणमा डुबाउने प्रयास गरेको छ ।

गीतकार तथा निर्माता डा. जसपाल पाख्रिन तामाङले कार्यक्रममा बोल्दै, “यो गीत मैले चार महिनाअघि लेखेको हुँ । सम्पादनमा अनिता पौडेलको सहयोग महत्वपूर्ण रह्यो,” भन्दै गीत आफ्ना श्रीमती नरसोभा गुरुङसँगको प्रेमकथामा आधारित रहेको बताए । उनका अनुसार “मायामा मायामा” गीतले भावना र सरलतालाई जोड्ने कथा बोकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कवि, गीतकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराबाट बनेको यस गीतलाई “राम्रो उदाहरण”को रूपमा प्रस्तुत गर्दै भने, “अब अडियो मात्र होइन, भिडियो पनि उत्तिकै सशक्त हुनुपर्ने जमाना आएको छ । ‘मायामा मायामा’ गीतले त्यो सन्देश दिएको छ।” उनले गीतको पृष्ठभूमि, छायांकन र भावनात्मक प्रस्तुति सबै उत्कृष्ट रहेको प्रशंसा गरे ।

त्यस्तै, कन्दरा ब्याण्डका संगीतकार सुनील थापाले गीतको सबै पक्ष बलियो रहेको बताउँदै डिजिटल प्रोमोशनमा ध्यान दिनुपर्ने सुझाव दिए । “राम्रो सिर्जनाको बजार राम्रो हुनुपर्छ, अहिलेको बजार भनेको डिजिटल प्लेटफर्म हो,” उनले उल्लेख गरे ।

यो पनि पढ्नुहोस् :  एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

गायक तथा संगीतकार सन्तोष बस्यालले आफू १० वर्षदेखि संगीतकर्ममा सक्रिय रहेको जनाउँदै निर्माता जसपाल पाख्रिनप्रति धन्यवाद व्यक्त गरे । “पोखराबाट पनि उत्कृष्ट म्युजिक भिडियो बन्न सक्छ भन्ने उदाहरण नै ‘मायामा मायामा’ हो,” उनले दाबी गरे । गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको जानकारी पनि उनले दिए ।

भिडियो निर्देशक नेत्र गुरुङका अनुसार, “राम्रो निर्माता भएका कारण नै छायांकनदेखि सम्पादनसम्म सबै पक्ष सुदृढ बनेको हो । दर्शकहरूले गीतलाई माया गर्नेमा हामी विश्वस्त छौं ।”

“मायामा मायामा” प्रेम, संवेदना र पोखराको सौन्दर्यलाई जोड्ने भावनात्मक म्युजिक भिडियो बनेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19960, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   3   =