मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता

जोमसोम, मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा आयोजित वार्षिक स्वीकृत कार्यक्रम तथा अर्धवार्षिक प्रगति अनुगमन–समीक्षा गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीको अध्यक्षता इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मुस्ताङ जिल्लाकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा रहनुभएको थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै प्रमुख गुप्ताले पछिल्लो ६ महिनामा संरक्षण क्षेत्रमा गरिएका कार्य, उपलब्धि तथा समग्र प्रगतिको समीक्षा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार इलाका कार्यालयले प्राथमिकताका आधारमा वन तथा वातावरण सरसफाइ, पदमार्ग मर्मत, पर्यटकलाई नियम पालना गराउने उद्देश्यले सूचना तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
त्यसैगरी स्थानीय आमा समूह तथा स्थानीय बासिन्दासँगको सहकार्यमा परम्परागत संस्कृति र सम्पदाको संरक्षण, फोहरमैला व्यवस्थापन लगायतका गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो। विद्यालयलाई पुस्तक तथा लेखन सामग्री वितरण गर्नुका साथै आमा समूहलाई फर्निचर सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो।

संरक्षण क्षेत्रभित्र देखिने अवैध गतिविधि तथा वन्यजन्तुलाई पासो थाप्ने जस्ता कार्य नियन्त्रण गर्न नियमित वन गस्ती सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो। किसानले लगाएको बाली तथा स्याउ खेतीमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि तारजाली लगाउने कार्यसमेत गरिएको उहाँको भनाइ थियो।
चालु आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म जोमसोम क्षेत्रमा भित्रिएका पर्यटकको संख्या ६२ हजार १३१ पुगेको छ। जसमध्ये सार्क मुलुकबाट आएका पर्यटकको संख्या ४७ हजार ७८३ र अन्य मुलुकबाट आएका पर्यटकको संख्या १४ हजार ३४८ रहेको छ। यस अवधिमा कुल २७.६७ प्रतिशत लक्ष्य हासिल भएको प्रमुख गुप्ताले दाबी गर्नुभयो। यद्यपि केही चुनौती तथा समस्यासमेत झेल्नुपरेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले इलाका संरक्षण कार्यालयले सराहनीय कार्य गर्दै आएको बताएका थिए।

प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अजिता शर्माले कुनै पनि काम गर्दा कानुनी दायराभित्र रहेर गर्नुपर्ने र प्रश्न उठ्ने अवस्था नआउने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मानव बस्तीमा हिउँचितुवा प्रवेश गर्न नदिन, किसानले पालेका पशु तथा बाली जोगाउन तथा हिउँचितुवासँग सम्बन्धित समस्या साझा भएकाले समयमै समाधानतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो।

उहाँले लक्ष्य हासिल हुने गरी काम गर्न सुझाव दिँदै आगामी दिनमा सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









