२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल

धादिङबेशी , २९ चैत्र । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले वर्तमान सरकारले देशमा सुशासन र समृद्धिको लय समातिसकेको दाबी गर्दै कम्तीमा दुई वर्ष सरकारलाई विश्वास गर्न आम नागरिकसँग आग्रह गर्नुभएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिकालाई ‘नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका’ घोषणा गर्न आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र बेथिति अन्त्यको यात्रा सुरु भइसकेको बताउनुभयो ।
सरकारको काममा नागरिक भरोसाको आह्वान
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुधारात्मक कामहरूको सुरुवात गरिसकेको उल्लेख गर्दै सभामुख अर्यालले भन्नुभयो, “जीवनमा सबैथोक किन्न सकिन्छ, तर विश्वास किन्न सकिँदैन । २०१५ सालपछि २०८२ सालमा हामीले देश बदल्ने एउटा सौभाग्य प्राप्त गरेका छौँ । म देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई आग्रह गर्छु— सरकारको यो अभियानलाई कम्तीमा दुई वर्ष विश्वास गरिदिनुहोस् ।”
उहाँले सरकारले सेवा प्रवाहमा देखाएको तदारुकताको उदाहरण दिँदै ड्राइभिंग लाइसेन्सको प्रतीक्षामा रहेका २६ लाख नागरिकलाई ७४ दिनभित्र लाइसेन्स वितरण गर्ने र ट्रायल पास गरेको २४ घण्टाभित्रै अनुमति पत्र दिने व्यवस्था यसैको सुरुवात भएको बताउनुभयो ।
‘भनसुन’ युगको अन्त्य गर्ने प्रतिबद्धता
सभामुख अर्यालले हस्पिटलमा बेड पाउन र स्कुलमा बच्चा भर्ना गर्न सांसद वा नेता खोज्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न आफूहरू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो: “अब ‘मेरो जिल्लाको सांसद कहाँ छ?’ भनेर हारगुहार गर्ने दिनको अन्त्य गर्नुपर्नेछ । हामी यस्तो कानुन निर्माण गर्दैछौँ, जो कम्तीमा ५० वर्षसम्म सान्दर्भिक बनोस् र नागरिकले राज्यको सेवा सहजै पाऊन् ।”
ज्वालामुखीको माटो र इमानदारिताको कसम
आफ्नो जन्मथलो ज्वालामुखी गाउँपालिका (साविक मैदी गाविस) मा आयोजित कार्यक्रममा भावुक बन्दै सभामुख अर्यालले आफू यहीँको माटोमा लडीबुडी गरेर हुर्किएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “म यहीँको छोरो हुँ, यहीँको भाइ र साथी हुँ । मैले हिजो पनि इमानदारिता गुमाएको थिइनँ, भोलि पनि गुमाउने छैन । मेरो कारणले ज्वालामुखी, धादिङ र समग्र नेपालीले शिर झुकाउनुपर्ने गरी कुनै पनि काम गर्ने छैन ।”
संसदलाई ‘फास्ट ट्रयाक’मा लैजाने संकल्प
संविधान बनेको १० वर्ष बितिसक्दा पनि धेरै कानुन निर्माण र संशोधन हुन बाँकी रहेको स्वीकार गर्दै उहाँले सदनलाई अत्यन्तै द्रुत गति (फास्ट ट्रयाक) मा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । “संसद र सरकार दुवै चलायमान छन् भन्ने विश्वास दिलाउने गरी म कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको समन्वयमा कानुन निर्माणलाई गति दिनेछु,” उहाँले थप्नुभयो ।
ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो सफा र स्वच्छ गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै सभामुख अर्यालले यसलाई देशकै गौरवको क्षण भएको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित









