‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा

काठमाडौं। षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायतको सक्रियतामा रहेको षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।
यद्यपि, आगामी फिल्म ‘लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिइएको छ। फिल्मको कथा पनि उनै थापाले लेखेका हुन्। उनले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्म निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथा लेखनमा समेत काम गरेका छन्। कथाकै छलफलका क्रममा निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको हो।
निर्देशक थापाका अनुसार षट्कोण आर्ट्सले तराईको विषयमा फिल्म बनाउने तयारी गरिरहेको बेला उनीसँग भेट भएको थियो। छलफलका क्रममा राम्रो कथा पाएमा लगानी गर्ने तयारी निर्माता रवीन्द्रसिंह बानियाँले व्यक्त गरेका थिए। आफूले आमासँग सम्बन्धित कथा प्रस्तुत गरेपछि केही दिनमै यसलाई फिल्मका रूपमा अघि बढाउने निर्णय भएको उनले बताए।
थापाले कथा उपलब्ध गराए पनि सुरुमा निर्देशन गर्ने योजना भने आफ्नो नरहेको बताएका छन्। यसअघि षट्कोण आर्ट्सका फिल्महरू प्रदीप भट्टराईले निर्देशन गर्दै आएका थिए। तर, यसपटक उनीहरूले थापालाई नै निर्देशनको जिम्मा दिएका हुन्।
फिल्मको पटकथा लगभग तयार भएपछि छायांकन स्थलको अवलोकनका क्रममा प्रदीप भट्टराईले नै फिल्मको नाम ‘लालीबजार’ राख्ने प्रस्ताव गरेका थिए, जसमा सबै पक्ष सहमत भएका थिए। निर्देशक थापाका अनुसार फिल्म आमाछोरीको कथामा आधारित छ, जसले सामाजिक यथार्थलाई चित्रण गर्छ।
उनले भने, “मैले धेरै अगाडिदेखि देख्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको हुँ। यो आमाछोरीको कथा हो, जसले समाजको एउटा महत्वपूर्ण पाटो उजागर गर्छ।”
फिल्मका सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ दर्शकले रुचाइसकेका छन्। दुवै गीत युट्युब, टिकटक, रिल्स र शर्ट्समा लोकप्रिय भएका छन्।
फिल्मको छायांकन बर्दियाको राजापुर क्षेत्रमा गरिएको हो। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरी लगायतका कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्।
फिल्मको कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।
फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायत, मेकअप काव्या थापा तथा संगीतमा प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबा रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३०, मंगलवार २१:५१विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १७:४३संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १२:५५प्रिमियरमा रुचाइयो ‘गौँथली’,साउन १ गतेबाट प्रदर्शनमा आउने









