सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा

पाल्पा/स्याङ्जा। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा र स्याङ्जा जोड्ने राम्दीस्थित कालीगण्डकी नदीमाथि निर्माण भइरहेको आधुनिक ‘सीएफएसटी (CFST) आर्क ब्रिज’ को काम अन्तिम चरणमा पुगेको छ। पुल सेक्टर पोखराका अनुसार आयोजनाले हालसम्म ९१ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ।
‘डिजाइन एण्ड बिल्ड’ (Design and Build) मोडेलमा निर्माण भइरहेको यस पुलको कुल लम्बाइ १२६.५ मिटर र चौडाइ ११ मिटर रहेको छ। पुल सेक्टर पोखराका इन्जिनियर बिदुर सुवेदीका अनुसार सिद्धार्थ राजमार्गको बढ्दो ट्राफिक चापलाई ध्यानमा राख्दै पुललाई उच्च भार क्षमता (हेभी लोड) धान्ने गरी डिजाइन गरिएको हो। आधुनिक ‘प्रि-स्ट्रेस बक्स गर्डर’ प्रविधि प्रयोग गरिएकाले पुल सुरक्षित, मजबुत र दीर्घकालीन हुने दाबी गरिएको छ।

हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण गरिरहेको यस आयोजनाको कुल ठेक्का रकम २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँ रहेको छ। २०७९ असार ३० गते सम्झौता भएको पुल २०८२ असार २९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर विभिन्न प्राविधिक कारणले समय थप गरी अब २०८३ असार २४ गतेसम्मका लागि नयाँ समयसीमा निर्धारण गरिएको छ। हालसम्म आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत पुगेको जनाइएको छ।
अब पुलमा पैदल यात्रुका लागि फुटपाथ निर्माण, रेलिङ जडान, सेल्फी स्पट व्यवस्थापन, रङरोगन तथा अन्तिम ढलानका कामहरू बाँकी रहेका छन्। वर्षायाममा कालीगण्डकी नदीको बहाव उच्च हुने भएकाले पुलको जग (फाउण्डेशन) र नदी नियन्त्रणसम्बन्धी संरचनालाई विशेष ध्यानका साथ दिगो बनाइएको इन्जिनियर सुवेदीले जानकारी दिए।

राम्दी क्षेत्र आसपास मात्र कालीगण्डकी नदीमा हाल ६ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन्। पुल सेक्टर परियोजनाले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रमा यातायात पूर्वाधार विकासलाई तीव्रता दिने लक्ष्य राखेको छ।
उक्त आर्क ब्रिज सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्गको आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने विश्वास गरिएको छ। साथै, निर्माण सम्पन्न भएपछि यो पुल पर्यटकीय दृष्टिकोणले समेत आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
थप तस्बिरहरु :





लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









