पर्यटनमार्फत समृद्ध जुगल बनाउने युवाको अभियान : प्रविण श्रेष्ठको नेतृत्वमा गार्डियन्स ग्रुपद्वारा जुगल बेस क्याम्पको सफल अन्वेषण

काठमाडौं । पर्यटनमार्फत जुगल क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थानीय युवाहरूले सञ्चालन गरेको ‘जुगल इज ओपन’ अभियानअन्तर्गत जुगल बेस क्याम्पको ६ दिने अन्वेषण यात्रा सफलतापूर्वक सम्पन्न भएको छ।
जुगल बेस क्याम्पको अन्वेषण यात्रा सकेर सुकुटे फर्किएका गार्डियन्स ग्रुपका सदस्य तथा जुगल–६ निवासी प्रविण श्रेष्ठ शारीरिक रूपमा निकै थकित देखिन्थे। दैनिक १० देखि १२ घण्टासम्म कठिन पदयात्रा गर्दा शरीर थिलो–थिलो भए पनि उनको उत्साह भने कम भएको थिएन। उनले यो यात्रा आफ्नो जीवनकै अविस्मरणीय र फलदायी अनुभव भएको बताए।
“यात्राका क्रममा धेरै दुःख र कठिनाइ भोग्नुपर्यो, तर जुगल बेस क्याम्प पुगेर देखेको दृश्य र अनुभूत गरेको आनन्दले सबै पीडा बिर्साइदियो,” श्रेष्ठले भने।
उनका अनुसार जुगल बेस क्याम्प पुग्न दुईवटा प्रमुख मार्ग छन्। दिपु हुँदै तेम्बाथाङसम्म सवारी साधनमार्फत पुग्न सकिन्छ भने पुरानो गुम्बा मार्ग प्रयोग गर्दा तलैबाट पैदल यात्रा गर्नुपर्छ। यद्यपि पैदल मार्ग अलि कठिन भए पनि पर्यटकका लागि अत्यन्त रोमाञ्चक र आकर्षक रहेको उनको भनाइ छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव तथा जुगलका स्थानीय समाजसेवी ईश्वर गुभाजूको सहयोग तथा जुगल गाउँपालिकाको समन्वयमा ‘जुगल इज ओपन’ नारासहित जुगल गार्डियन्सको १२ सदस्यीय टोलीले यो अभियान सञ्चालन गरेको हो। टोली आइतबार सुकुटे फर्किएको थियो भने सोमबार काठमाडौं आइपुगेको छ।
टोलीका सदस्य तथा जुगल–४ का गौरव श्रेष्ठले जेठ १३ गते कोटेश्वरबाट यात्रा सुरु गरी जुगल बेस क्याम्प पुगेर फर्किएको अनुभव सुनाउँदै स्थानीय संस्कृति, भाषा र परम्पराले यात्रालाई अझ स्मरणीय बनाएको बताए। उनका अनुसार यात्राका क्रममा प्रस्तुत गरिएको खान्दुके सेलो र लालुङबा नृत्यले विशेष आकर्षण थपेको थियो। साथै गुम्बा क्षेत्रमा निर्माणाधीन होमस्टेले पर्यटकको ध्यान खिच्ने विश्वास उनले व्यक्त गरे।
टोलीका अर्का सदस्य तथा जुगल गाउँपालिका–३ का विक्रम तामाङले जुगल बेस क्याम्पसम्म पुग्ने विभिन्न मार्गको विस्तृत अध्ययन र अभिलेखीकरण आवश्यक रहेको बताए। छेन्दाङदेखि नेपमेसालसम्मको दूरी, यात्रा अवधि तथा अन्य प्राविधिक जानकारीहरू आगामी दिनमा पदयात्रीहरूका लागि उपयोगी हुने उनको भनाइ छ।
जुगलकै गोर्गेन लालुङबा लामाका अनुसार हाल दिपुसम्म मात्र मोबाइल नेटवर्कको पहुँच रहेको छ। त्यसभन्दा माथिका क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटकहरूले समस्या भोग्नुपरेको उनले बताए। साथै मार्गका विभिन्न स्थानमा सरसफाइ, बासस्थान र होटल व्यवस्थापनको अभाव रहेको पनि उनको भनाइ छ।
अभियानका अभियन्ता तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजूले स्थानीय युवा समूह ‘द जुगल गार्डियन्स’ को नेतृत्वमा सम्पन्न भएको यो ६ दिने विशेष अन्वेषण यात्रा सफल भएको बताए। उनका अनुसार टोलीले ६ दिन ५ रातको चुनौतीपूर्ण यात्रा पार गर्दै समुद्री सतहबाट करिब ४,५०० मिटर उचाइमा रहेको ‘जुगल भ्यु पोइन्ट’ सम्म पुग्न सफलता हासिल गरेको छ।
“यो स्थान अब पदयात्रीहरूका लागि जुगल बेस क्याम्पका रूपमा स्थापित भएको छ। राजधानी काठमाडौंबाट सबैभन्दा नजिक भएर पनि ओझेलमा परेको जुगल हिमाल क्षेत्रलाई पर्यटनको मूलधारमा ल्याउने दिशामा यो अभियान एउटा महत्वपूर्ण उपलब्धि हो,” गुभाजूले भने।
उनले जुगल गाउँपालिकाका अध्यक्ष रेसम स्याङ्बोलाई अभियान सफल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। साथै पर्यटनमार्फत समृद्ध जुगल निर्माण गर्ने लक्ष्यसहित स्थानीय युवाहरूले थालेको यो स्वतःस्फूर्त अभियानले नयाँ सम्भावना र सिकाइको ढोका खोलेको बताए।
टोलीले जुगल बेस क्याम्पलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्न मार्गका विभिन्न स्थानमा बासस्थान निर्माण, टेलिफोन टावर विस्तार, गोरेटो बाटो सुधार, आवश्यक पूर्वाधार विकास तथा नियमित सरसफाइ व्यवस्थापनका लागि गाउँपालिकाले बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएको छ।
स्थानीय युवाहरूको सक्रियता र सामूहिक प्रयासले जुगल क्षेत्रलाई नेपालको नयाँ पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार भएको विश्वास टोलीले व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो









