धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

धादिङबेशी, ३ असार । नीलकण्ठ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र एक्सन नेपालको सहकार्यमा सञ्चालित कृषि तथा पशु मूल्य शृङ्खलामा नवीनता परियोजना अन्तर्गत उत्कृष्ट कृषक छनोट तथा सम्मान कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रममा रोशिका गुरुङ, रामकुमार श्रेष्ठ र बुद्धिप्रसाद बुर्लाकोटी उत्कृष्ट तीन कृषकका रूपमा छनोट भई सम्मानित हुुनुभएको छ ।
कार्यक्रममा २५ जना कृषि उद्यमीमध्येबाट प्रारम्भिक चरणमा १० जना कृषक छनोट गरी उनीहरूका कृषि व्यवसायसम्बन्धी अनुभव, संघर्ष र सफलताका कथाको प्रस्तुतीकरण गराइएको थियो । उक्त प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन कृषक छनोट गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा रोशिका गुरुङ प्रथम, रामकुमार श्रेष्ठ द्वितीय तथा बुद्धिप्रसाद बुर्लाकोटी तृतीय हुनुभएको हो । चौथो स्थान विमला कोइरालाले हासिल गर्नु भएको थियो ।
उत्कृष्ट तीन कृषकलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो भने चौथो स्थान प्राप्त कृषक विमला कोइरालालाई ग्लोबल आईएमई बैंकको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
एक्सन नेपालका अध्यक्ष कमला कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, हेफर इन्टरनेसनल नेपालका कृषि बजार विकास प्रमुख डा. राजकुमार अधिकारी, विभिन्न वडाका अध्यक्ष तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर प्रमुख ढुंगानाले कृषकहरूलाई आवश्यक पर्ने ऋण तथा वित्तीय पहुँचका लागि नगरपालिका सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई व्यवसायिक र आत्मनिर्भर बनाउन स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । हेफर इन्टरनेसनल नेपालका कृषि बजार विकास प्रमुख डा. अधिकारीले स्थानीय तहसँगको सहकार्यमा किसान लक्षित थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले कृषकहरूलाई उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नराखी राष्ट्रिय बजारसम्म विस्तार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सम्मानित कृषक रोशिका गुरुङले सम्मानले आफूलाई थप हौसला र आत्मविश्वास प्रदान गरेको बताउँदै प्राप्त पुरस्कार रकम कृषि व्यवसायमै लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले अन्य युवालाई समेत कृषि क्षेत्रमा आकर्षित हुन आग्रह गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कमला कुमालले सम्मानित कृषकहरूलाई बधाई दिँदै कृषि उद्यम विकासका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड











