विपद् न्यूनीकरणमा समुदाय र प्रविधिको सहकार्य

विपद् न्यूनीकरणमा समुदाय र प्रविधिको सहकार्य

धादिङ,असार २३ गते ।
वर्षायाम सुरु भएसँगै धादिङका अधिकांश बस्तीमा वर्षाले राहतभन्दा बढी चिन्ता बोकेर आउँछ । लगातारको वर्षापछि पहिरो खस्ने, खोला बढ्ने, सडक अवरुद्ध हुने र विद्युत् सेवा प्रभावित हुने घटना यहाँका बासिन्दाका लागि नौलो होइन।

कतिपय अवस्थामा एउटा सामान्य पहिरोले घण्टौँसम्म सडक बन्द गरिदिन्छ भने ठूलो विपद्ले दर्जनौँ परिवारलाई विस्थापित बनाउँछ। यस्तो अवस्थामा सबैभन्दा महत्त्वपूर्ण हुने सूचना नै धेरै पटक ढिलो पुग्ने गरेको छ। यस्ता विपद्का बेला समयमै सूचना नपुग्दा उद्धार तथा राहत कार्य प्रभावित हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ।

धादिङले विगतमा यस्ता पीडादायी घटना पटक–पटक भोगेको छ । विपदको सुचना समयमै सम्बन्धित निकायसम्म छिटो नपुग्दा अझ धेरै जनधनको क्षति हुने गर्दर्छ ।

२०८१ साल असोज महिनामा नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत झ्याप्ले खोलामा गएको पहिरोले ३५ जनाको ज्यान लियो। तीन वटा सवारीसाधन पहिरोमा पुरिएको थियो । त्यो घटना धादिङका लागि मात्र होइन, देशकै मनसुनी विपद्को एउटा दुःखद स्मृतिका रूपमा अझै ताजै छ।
यस्ता घटनाले एउटा प्रश्न बारम्बार उठाउने गरेका छन– विपद्को सूचना सम्बन्धित निकायसम्म अझ छिटो पुग्न सके क्षति केही घटाउन सकिँदैन र? यही प्रश्नको उत्तर खोज्ने प्रयासस्वरूप धादिङका विभिन्न स्थानीय तहमा समुदायलाई प्रविधिसँग जोड्ने अभियान सुरु भएको छ। स्थानीय बासिन्दाले आफ्नै मोबाइलबाट सडक अवरोध, पहिरो, बाढी, विद्युत् अवरोधलगायतका घटनाको फोटोसहित विवरण तत्काल सम्बन्धित निकायमा पठाउन सक्ने प्रणालीबारे समुदायस्तरमै अभिमुखीकरण भइरहेको छ।

अहिले स्वयंसेवकहरू गाउँ–गाउँ र घर–घर पुगेर स्थानीयलाई मोबाइलमा एप डाउनलोड गराउने, प्रयोग सिकाउने र विपद्का बेला सूचना कसरी पठाउने भन्ने अभ्यास गराइरहेका छन्। धेरैका लागि यो पहिलो पटक डिजिटल माध्यमबाट विपद्सम्बन्धी सूचना पठाउने अनुभव बनेको छ।

यस अभियानमा प्रयोग भइरहेको ‘कृष्टा (CRISTA)’ एप ग्यानोभेसन रिर्सच सेन्टरले संचालन गरेको हो भने एक्सन नेपालमार्फत धादिङका समुदायसम्म विस्तार गरिएको छ।

यो पनि पढ्नुहोस् :  सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा

परियोजनाकी प्रोजेक्ट अफिसर युरिसा उपाध्यायका अनुसार समुदायलाई प्रविधिसँग जोडेर विपद् व्यवस्थापनलाई छिटो, प्रभावकारी र सहभागितामूलक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उहाँका अनुसार स्थानीयबाट प्राप्त सूचना प्राविधिक टोलीले प्रमाणीकरण गरेपछि सम्बन्धित निकायसम्म तत्काल पुग्ने व्यवस्था मिलाइएको छ। यसले उद्धार, राहत र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धादिङ भौगोलिक रूपमा पहिरो तथा वर्षाजन्य विपद्को उच्च जोखिममा पर्ने जिल्लामध्ये एक हो। विशेषगरी पृथ्वी राजमार्ग आसपासका क्षेत्र, नदी किनार र डाँडाकाँडाका बस्ती वर्षेनी प्राकृतिक विपद्को चपेटामा पर्दै आएका छन्। विपद् हुँदा स्थानीयले सबैभन्दा पहिले अवस्था देख्ने भए पनि सूचना सम्बन्धित निकायसम्म पुग्न समय लाग्ने समस्या लामो समयदेखि रहँदै आएको छ।

यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले सुरु गरिएको डिजिटल अभ्यासले स्थानीयलाई सूचना दिने मात्र होइन, विपद् व्यवस्थापनको सक्रिय साझेदार बनाउने प्रयास गरेको छ। घटनास्थलबाट वास्तविक समयमै प्राप्त हुने विवरणका आधारमा स्थानीय तहले आवश्यक जनशक्ति, उपकरण र राहत सामग्री परिचालन गर्न सक्ने विश्वास गरिएको छ।

हाल नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका तथा सिद्धलेक गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ। आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गर्ने तयारी रहेको परियोजनाले जनाएको छ।

मनसुनसँगै आउने विपद्लाई रोक्न सम्भव छैन। तर सूचना प्रवाहलाई छिटो, व्यवस्थित र विश्वसनीय बनाउन सकियो भने त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ। धादिङका बस्तीमा सुरु भएको यो डिजिटल अभ्यास त्यसैतर्फको एउटा नयाँ प्रयासका रूपमा हेरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =