मेसी र यामालको क्रेजमा फिफाको अर्बौँको व्यापार

काठमाडौँ । भूमण्डलीकृत पुँजीवादले खेलकुदलाई कसरी सम्भ्रान्त वर्गको मनोरञ्जनमा सीमित गरिदिन्छ भन्ने ताजा उदाहरण बनेको छ– फिफा विश्वकप २०२६ को फाइनल। सोमबार बिहान १२ः४५ बजे अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेन र अर्जेन्टिना आमनेसामने हुँदा फुटबलको मैदानमा मात्र होइन, डलरको बजारमा पनि एउटा नयाँ कीर्तिमान कायम हुनेछ। अमेरिकी खेलकुद इतिहासकै सबैभन्दा महँगो इभेन्ट बनेको यस फाइनल खेलले खेलप्रतिको आसक्ति र व्यावसायिक कर्पोरेट स्वार्थको एउटा कुरुप चित्रसमेत बाहिर ल्याएको छ।
लियोनेल मेसीको सम्भवतः यो अन्तिम विश्वकप हुनु र स्पेनका उदीयमान युवा स्टार लामिने यामालसँगको उनको भिडन्त हुनुले खेलको आकर्षण त बढाएको छ, तर त्यसैको आडमा फिफाले गरेको ‘डाइनामिक प्राइसिङ’ (मागअनुसार मूल्य तोक्ने प्रणाली) ले सयौँ फुटबल फ्यानहरूलाई रङ्गशालाबाहिर धकेलिदिएको छ।
फिफाले शुरुमा फाइनलको आधिकारिक मूल्य २ हजार ३० डलरदेखि ६ हजार ७३० डलरसम्म तोकेको थियो। तर, अप्रिलमा चौथो चरणको बिक्री खुला हुँदा क्याटेगोरी १ को टिकट मूल्य निरन्तर बढेर १० हजार ९९० डलर पुग्यो।
फाइनलको पूर्वसन्ध्यामा त बजार अनियन्त्रित नै बन्यो। फिफाको आधिकारिक साइटमा टिकट सकिएपछि रिसेल (पुनः बिक्री) प्लेटफर्महरूमा एउटा टिकटको मूल्य १० हजारदेखि शुरु भएर २३ लाख डलरसम्ममा सूचीबद्ध भयो। अर्को प्रमुख रिसेल प्लेटफर्म ‘सिटगिक’मा औसत टिकट मूल्य ११ हजार डलर नाघ्यो, जुन अमेरिकीहरूको प्रतिष्ठित खेल ‘सुपर बाउल २०२४’ भन्दा पनि ८ प्रतिशत महँगो हो।
एकातर्फ फिफाले माग र आपूर्तिको नियम भन्दै डाइनामिक प्राइसिङको प्रयोग गर्यो भने अर्कोतर्फ स्लो टिकटिङ रणनीतिमार्फत सीमित सिटहरू मात्र बजारमा फालेर उपभोक्तामाझ कृत्रिम अभाव र मनोवैज्ञानिक हतारो सिर्जना गरियो, जुन पूर्णतः अपारदर्शी हो।
यसलाई थप मलजल गर्ने काम अमेरिकी कानुनको फितलोपनले गरेको छ। अमेरिकामा रिसेल (ब्ल्याक मार्केटिङ) बजारमाथि खुकुलो नियम छ, जसका कारण बिचौलियाहरूले टिकटलाई शेयर बजार जस्तै सट्टाबाजीको साधन बनाए। यसको विपरीत सह–आयोजक मेक्सिकोले भने रिसेलरहरूले खरिद मूल्यभन्दा बढीमा बेच्न नपाउने नियम बनाएर फ्यानहरूको संरक्षण गरेको थियो।
समूह चरणका ७२ खेलमध्ये आधाभन्दा बढी खेल पूर्ण क्षमतामा भरिनु र फिफाका अनुसार समग्रमा ९९.७ प्रतिशत सिटको उपभोग हुनुले व्यावसायिक रूपमा यो विश्वकप सफल देखिन्छ। तर, यसले फुटबलको मौलिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ। भिसा प्रक्रियाको जटिलता, हवाई भाडा र रङ्गशालाको महँगो टिकट धान्न सक्ने युरोपेली र अमेरिकी उच्च वर्गबाहेक दक्षिण अमेरिका वा एसियाका आम फुटबलप्रेमीका लागि यो फाइनल खेल ‘आकासको फल’ जस्तै बनेको छ। जसको श्रम, पसिना र भावनाले फुटबललाई विश्वको लोकप्रिय खेल बनायो, उनीहरू नै टेलिभिजन स्क्रिनमा सीमित भएका छन् भने कर्पोरेट एजेन्ट र धनाढ्यहरू भीआईपी बक्समा बसेर फुटबलको व्यापार गरिरहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ श्रावण ३, आईतवार १४:२७फेसबुकमा देखियाे समस्या
खेलकुद२०८३ श्रावण ३, आईतवार १२:१२मेसी र यामालको क्रेजमा फिफाको अर्बौँको व्यापार
समाचार२०८३ श्रावण ३, आईतवार ०८:२५मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३, आईतवार ०७:५२साउने संक्रान्तिको अवसरमा ‘तीन तीघ्रे क्या बिग्रे’को सम्पूर्ण टिम सार्वजनिक









