पोखरामा चार हजारभन्दा बढी धावक सहभागी हुने ‘राइट टु प्रोटिन रन’ हुँदै

पोखरा । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ।
नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (NFIA) को आयोजनामा तथा यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) को मुख्य प्रायोजनमा आगामी असोज ३ गते (१९ सेप्टेम्बर २०२६) शनिबार दौड आयोजना गर्न लागेको विहिबार पाेखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हो। प्रतियोगितामा चार हजारभन्दा बढी धावक सहभागी हुने आयाेजककाे अपेक्षा छ।
दौड लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर पुनः बसुन्धरा पार्कमै आएर सम्पन्न हुनेछ।
प्रतियोगितामा आठ विधा समावेश छन्। हाफ म्याराथन पुरुष तथा महिला २१ किलोमिटर, खुला दौड पुरुष १० किलोमिटर, खुला दौड महिला ५ किलोमिटर, कक्षा १२ सम्मका युवा पुरुष ५ किलोमिटर, युवा महिला ३ किलोमिटर तथा ह्विलचेयर पुरुष र महिला ३ किलोमिटरका विधामा प्रतिस्पर्धा हुने कार्यक्रम संयाेजक समीत राजभण्डारीले जानकारी दिए ।

प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कारको कुल रकम १६ लाख रुपैयाँ रहेको छ। नियमानुसार २५ प्रतिशत कर कट्टीपछि विजेताहरूलाई कुल १२ लाख ८० हजार रुपैयाँ वितरण गरिनेछ।
आयोजकका अनुसार दौडमार्फत अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता प्रोटिनका स्रोतबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ। साथै खेलकुद, स्वास्थ्य, कृषि र पर्यटनलाई जोड्दै पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको छ।
‘राइट टु प्रोटिन रन’ सन् २०१९ देखि सञ्चालन हुँदै आएको अभियान हो। आयोजकले यसलाई खेलकुद प्रतियोगितासँगै प्रोटिन तथा सन्तुलित पोषणबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको जनाएको छ।
दौडलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गरिने भएको छ। दौड मार्गमा खानेपानी, हाइड्रेसन स्टेसन, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा र एम्बुलेन्सको व्यवस्था गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न फिड, भेटेरिनरी, पोल्ट्री, स्वास्थ्य, पर्यटन तथा आतिथ्य क्षेत्रका संघसंस्थाको सहभागिता रहनेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22367, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








