‘पाँच पाण्डव’को स्वरांकन सुरु, डल्बी एटमसमा साउन्डको काम

काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो।
गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता थियो। तिहारमा प्रदर्शनमा आउने फिल्मको स्वरांकनको सुरुवात मुख्य कलाकार हरिवंश आचार्यले गरेका हुन्।
निर्माण पक्षले फिल्मको सम्पूर्ण साउन्डको काम डल्बी एटमसमा गर्ने जनाएको छ। यससँगै दर्शकले फिल्ममा डल्बी एटमस साउन्डको अनुभव गर्न पाउनेछन्।
“हामीले पोस्टको काम सुरु गरेसँगै स्वरांकन गर्न थालेका छौँ। हामीले कुनै पनि कम्प्रोमाइज गरेका छैनौँ,” निर्देशक वसन्त निरौलाले भने, “दर्शकलाई साउन्डको फरक टेस्टसहित प्राविधिक रूपमा पनि अब्बल फिल्म दिनेछौँ। यसको प्रभाव फिल्ममा देखिने र महसुस हुने छ।”
चार दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय म्युजिक नेपालले गत वर्ष माघदेखि करिब १० करोड रुपैयाँको लगानीमा नेपालमा पहिलोपटक डल्बी एटमसबाट मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको हो।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका अग्रज तथा नयाँ पुस्ताका कलाकार एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्। दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरी र सीता न्यौपानेको पनि अभिनय रहेको छ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्मात्री काली रानी श्रेष्ठ हुन्।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार फिल्म सामाजिक ड्रामा विधामा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने उनले बताए।
झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन श्याम तामाङले गरेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









