७२ वर्षपछि पोउवासंघमा पहिलो महिला अध्यक्ष, शोभाको ऐतिहासिक जित

पोखरा । पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला नेतृत्वमा पुगेकी छन्। संघको ३६औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन्।
तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै गौतमले ७ सय ५१ मत प्राप्त गरी ऐतिहासिक जित निकालेकी हुन्। उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे।
गौतम अघिल्लो कार्यकालमा संघको महासचिव थिइन्। करिब एक दशकअघि संघको साधारण सदस्य बनेकी उनी कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालेर अध्यक्षसम्म पुगेकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेल लगातार तेस्रोपटक अध्यक्षको उम्मेदवार बनेका थिए। यसअघि उनी गोकर्ण कार्की र त्यसअघिको निर्वाचनमा पवन प्रजापतीसँग पराजित भएका थिए। उत्तममान बुद्धाचार्य अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र बलराम आचार्य उपाध्यक्ष थिए।
यसपटक गौतमको जितलाई महिला, साना लगानीमा व्यवसाय सञ्चालन गर्ने तथा स्वरोजगार व्यवसायीको समर्थनसँग जोडेर हेरिएको छ। यसअघि संघको अध्यक्ष पदमा बिन्दु कोइराला सुवेदी र हीरा भट्टराईले पनि उम्मेदवारी दिएका थिए। तर दुवै पराजित भएका थिए।
गौतमको व्यवसायिक यात्रा करिब साढे दुई दशकअघि संघको कार्यालयअगाडिको सानो चिया पसलबाट सुरु भएको थियो। त्यही चिया पसलबाट संघका पदाधिकारी, सदस्य र पाहुनालाई चिया पुर्याउने उनी अहिले पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गर्ने स्थानमा पुगेकी छन्।
चिया पसलपछि पुष्पाञ्जली ब्युटी पार्लर हुँदै व्यवसाय विस्तार गरेकी गौतम हाल सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीलगायतका क्षेत्रमा सक्रिय छिन्। उनी मानव सेवा आश्रम, लायन्स क्लबलगायत विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छिन्।
अध्यक्षमा निर्वाचित भएपछि गौतमले आफ्नो जितलाई हजारौँ संघर्षशील महिला उद्यमीको प्रतिनिधि आवाजका रूपमा लिएको बताइन्। उनले भनिन्, ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौँ संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो।’
अन्य पदमा को को विजयी ?
वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला १ हजार ४ सय ८१ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले ७ सय ६० मत पाए।
महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मतसहित विजयी हुँदा तारानाथ ढुंगानाले १ हजार ४२ मत पाए।
उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा १ हजार २ सय ७१ र वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित विजयी भए।
कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ तथा उपमहासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतसहित विजयी भए।
खुला सदस्यका १० पदमा दुर्गा बराल, अमृत पोखरेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरी पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भए।
खुला सदस्यमा उम्मेदवारी दिएका नवीन नापित, हरिप्रसाद अधिकारी र सूर्यराज घिमिरे भने निर्वाचित हुन सकेनन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22556, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २४, बुधबार ०६:२६लेखनाथ नगरपालिका ब्युँताउने अभियान तीव्र, विशेष नगरसभा बोलाउन एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षर
समाचार२०८३ भाद्र २३, मंगलवार ०८:४७तीजको दर कार्यक्रम स्थगित गरी रसुवाका बाढीपीडितलाई ५० हजार सहयोग
समाचार२०८३ भाद्र २३, मंगलवार ०५:३२७२ वर्षपछि पोउवासंघमा पहिलो महिला अध्यक्ष, शोभाको ऐतिहासिक जित
समाचार२०८३ भाद्र २२, सोमबार १२:०२मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु







