काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ।
चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार ‘पार्वती’ले पहिलो सातामा १ करोड ५८ लाख ८४ हजार १३७ रुपैयाँ ग्रस कमाइ गरेको छ।
बोर्डको तथ्यांकअनुसार उक्त अवधिमा चलचित्र ५४ हजार ७३५ दर्शकले हेरेका छन्। अटिजम भएकी एक महिलाको जीवनकथालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘पार्वती’मा नीता ढुंगाना स्वयंका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय छ। चलचित्रले पहिलो सातामै डेढ करोडभन्दा बढीको व्यापार गरेपछि निर्माण टिम उत्साहित देखिएको छ।










