लेखनाथ नगरपालिका ब्युँताउने अभियान तीव्र, विशेष नगरसभा बोलाउन एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षर

लेखनाथ ।
साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहितको अभियानले गति लिएको छ। माग सम्बोधनका लागि पोखरा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिले विशेष नगरसभा बैठक बोलाउन औपचारिक प्रक्रिया अघि बढाएका छन्।
पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित विशेष नगरसभा बोलाउन माग गर्दै महानगर प्रमुख धनराज आचार्यसमक्ष पत्र बुझाइएको हो।
पत्रमा विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव नगरसभाबाट पारित गरी सम्बन्धित निकायमार्फत संघीय सरकारसमक्ष पठाउन माग गरिएको छ।
पत्र बुझ्दै महानगर प्रमुख आचार्यले विषयमा कानुनी परामर्श लिएर आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन्। उनले विशेष नगरसभा बोलाएर लेखनाथ नगरपालिका पुनर्स्थापनासम्बन्धी प्रस्ताव नगरसभामा पेश गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
कास्कीमा कम्तीमा १० पालिका आवश्यक : आचार्य
महानगर प्रमुख आचार्यले कास्की जिल्लाको वर्तमान स्थानीय तहको संरचनालाई पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन्। कास्कीमा हाल पाँच स्थानीय तह रहेकामा त्यसलाई बढाएर कम्तीमा १० वटा पालिका बनाउन पहल भइरहेको उनले बताएका छन्।
स्थानीय तहको संख्या बढ्दा स्थानीयस्तरमा बजेट तथा स्रोतसाधनको पहुँच र सुनिश्चितता बढ्ने उनको भनाइ छ। यही अवधारणाअनुसार कास्कीमा थप पालिका गठनको माग संघीय सरकारसमक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए।

‘समृद्ध लेखनाथका लागि छुट्टै नगरपालिका आवश्यक’
लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक शालिग्राम पौडेलले लेखनाथ क्षेत्रको दीर्घकालीन तथा समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक रहेको बताएका छन्।
स्थानीय आवश्यकता, भौगोलिक अवस्था, जनसंख्या र विकासका सम्भावनालाई मध्यनजर गर्दा लेखनाथ नगरपालिकाको पुनर्स्थापना उपयुक्त विकल्प हुने उनको दाबी छ।
“समृद्ध विकास र समृद्ध लेखनाथ निर्माणका लागि लेखनाथ नगरपालिकाको विकल्प छैन,” पौडेलले भने।विशेष नगरसभा बोलाउने प्रक्रिया अघि बढेसँगै अब पोखरा महानगरपालिकाको नगरसभाले लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्तावमा कस्तो निर्णय गर्छ भन्ने विषय चासोको विषय बनेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22564, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन
समाचार२०८३ आश्विन ६, मंगलवार १५:५१निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड








