भारतमा १३२ करोड कमाएको ‘हनुमान अंश’ नेपालमा रिलिज हुँदै

भारतमा १३२ करोड कमाएको ‘हनुमान अंश’ नेपालमा रिलिज हुँदै

‘हनुमान अंश’ नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित फिल्म हो।


काठमाडौं । भारतमा सुरुवाती दिनमा खासै प्रभाव जमाउन नसके पनि पछि दर्शकको माउथ पब्लिसिटीका कारण अप्रत्याशित सफलता हासिल गरेको भारतीय फिल्म ‘हनुमान अंश’ अब नेपालमा पनि प्रदर्शन हुने भएको छ। फिल्म आगामी भदौ २६ गते अर्थात् शुक्रबारदेखि नेपालका सिनेमा हलमा रिलिज हुने भएको हो।

नेपालका मल्टिप्लेक्सहरूले समेत फिल्मलाई आफ्नो वेबसाइटमा ‘कमिङ सुन’ सूचीमा राख्दै शुक्रबारदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन्।

रिलिजअघि खासै चर्चा नपाएको यो फिल्मले भारतीय बक्स अफिसमा भने आश्चर्यजनक यात्रा तय गरेको छ। करिब २ करोड भारु बजेटमा निर्माण भएको भनिएको फिल्मले पहिलो दिन जम्मा १० लाख भारु नेट कमाइ गरेको थियो। पहिलो सातामा यसको नेट कमाइ १.०८ करोड भारु रह्यो भने दोस्रो सातामा थप ४० लाख भारु मात्रै जोडिएको थियो।

दुई सातासम्म कमजोर देखिएको फिल्मको व्यापार तेस्रो सातादेखि भने एकाएक उकालो लाग्यो। फिल्म हेरेका दर्शकले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिन थालेपछि यसको चर्चा तीव्र रूपमा फैलियो। दर्शकबाट दर्शकसम्म पुगेको सिफारिस अर्थात् माउथ पब्लिसिटी नै फिल्मको सबैभन्दा प्रभावकारी प्रचार बन्न पुग्यो।

तेस्रो सातामा फिल्मले १०.४० करोड भारु नेट कमाउँदा चौथो सातामा मात्रै ६१ करोड भारु कमाएको दाबी गरिएको छ। पहिलो दिन १० लाख भारुबाट व्यापार सुरु गरेको फिल्मले हालसम्म भारतमा १३२ करोड भारु नेट कमाइ गरिसकेको बताइएको छ।

भारतमा अप्रत्याशित सफलता पाएसँगै नेपाली दर्शकमाझ पनि फिल्मको प्रदर्शनलाई लिएर चासो बढेको थियो। अब भने आगामी शुक्रबारदेखि नेपाली दर्शकले पनि फिल्म हेर्न पाउने भएका छन्।

‘हनुमान अंश’ नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित फिल्म हो। फिल्मका लेखक तथा निर्देशक विशाल चतुर्वेदी हुन्। फिल्ममा शोभिनव सत्याले नीम करोली बाबाको भूमिका निर्वाह गरेका छन्।

यो पनि पढ्नुहोस् :  चलचित्र ‘माया बस्छ कि के हो !’ मा युरोपका सुन्दर शहर

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   1   =