देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ- तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ ।

तिहार सुरु भएसँगै बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै देउसीभैलो खेल्न थालिएको बजारमा ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने क्रम बढेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा सहभागी भएर रमाइरहेका छन् । तर, बजारमा देखिएको चहलपहलमा परम्परागत देउसीभैलोको शैली भने कमै देखिन्छ ।

कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदुःख, सामाजिक अवस्था र जनजीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा सङ्गीत बजाउने प्रवृत्ति बढ्दा देउसीभैलोको परम्परागत शैली सङ्कटमा परेको छ ।

स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताउनुभयो । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला तथा संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदिँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बन्दै गएको उहाँको भनाइ छ । “पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ”, श्रेष्ठले भत्रुभयो ।

बागलुङ बजारका रबीप्रसाद शर्माले आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसीभैलोको मौलिकता हराउँदै गएको बताउनुभयो । तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउनुपर्ने उहाँको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा आधुनिक तथा पश्चिमा शैली हाबी हुँदै गएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् :  तिहारको चौथो दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

यद्यपि, सबै देउसीभैलो टोली आधुनिक शैलीमा मात्र सीमित छैनन् । केही समूहले पूराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास पनि गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर बत्रे चिन्ता बढेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =