तिहारको चौथो दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

पाेखरा । तिहारको चौथो दिन आज देशभर गोवर्द्धन, बली, गोरु तथा हलिको पूजा गरी मनाइँदैछ । यस अवसरमा गोरुलाई पूजा गरेर मीठा परिकार खुवाउने र कृषि कर्ममा योगदान पुर्याउने किसान तथा हलिको सम्मान गर्ने परम्परा छ ।
गोबरबाट पर्वतको आकृति बनाएर गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको धार्मिक मान्यताका आधारमा गोवर्द्धन पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
यस दिन भगवान् विष्णुका भक्त राजा बलीको पनि पूजा आराधना गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् विष्णुले राजा बलीलाई यमपञ्चकका पाँच दिन मृत्युलोकको शासन गर्ने अधिकार दिनुभएको थियो । यही मान्यताका आधारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएका होइनौँ, बली राजाले पठाएका’ भन्दै भट्याउने परम्परा रहेको छ ।
कृषि कार्यमा वर्षभरि महत्वपूर्ण योगदान पुर्याउने गोरुको पूजा गरी मीठा परिकार खुवाउने चलन पनि छ । गोरुलाई भगवान् शिवको वाहन नन्दीका रूपमा समेत सम्मान गरिन्छ ।
त्यसैगरी, गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले तिहारको यस दिनलाई हलि तिहारका रूपमा समेत चिनिन्छ ।
गोवर्द्धन, गोरु र हलिको पूजाले प्रकृति, पशुपन्छी तथा कृषि कर्मप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने नेपाली परम्परालाई उजागर गर्छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23020, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २५, मंगलवार ०६:३३तिहारको चौथो दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा
समाचार२०८३ कार्तिक २४, सोमबार ०७:०८तिहारको तेस्राे दिन आज गाईपूजा गरिँदै
समाचार२०८३ कार्तिक २३, आईतवार ०७:४३बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना; आज एकै दिन दुई पर्व
समाचार२०८३ कार्तिक २२, शनिबार १८:२९कास्की जिल्ला युवा चेम्बर गठन, अध्यक्षमा डीएन लामिछाने







