जहाँ जाँऊ लागिरहन्छ माया देशको…

जहाँ जाँऊ लागिरहन्छ माया देशको…

काठमाडौ- “मेरो बाउ बाजे नेपाल आउन नपाई संसार त्याग्नु भयो । सात पुस्तापछि पहिलो पटक नेपाल आएकी हुँ । म आफुलाई निकै भाग्य मानि ठानेकी छु ।”

म्यानमारबाट अस्मिता न्यौपाने नेपालमा पहिलोपटक आइपुगेको अनुभव सुनाउदै भावुक हुनुभयो । आफ्नो पुस्तौनी मुुलुकप्रतिको माया उहाँको हृदयमा भरिएको भाव झल्किन्थ्यो । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उहाँले नेपाल आउनुको खुशी त सुनाउनु भयो नै, साथसाथै उहाँले गीत समेत गाएर नेपालीपन झल्काउनुभयो । उहाँको सपना सायद नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ नभएको भए सम्भव हुने थिएन । मेरो भ्वाइस युनिभर्सकी सहभागी न्यौपाने जस्ता थुप्रै विभिन्न देशमा बसोबास गर्दै आएनु भएका युवा प्रतिभाहरुले सञ्चार मन्त्री गुरुङसमक्ष आफ्ना भावना साटासाट गनुभयो ।

उहाँहरुले सामुहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषा भेषको, जहाँ जाँऊ लागिरहन्छ माया देशको…’ बोलको गीत समेत गाएर सुनाउनुभयो । मन्त्री गुरुङका अनुसार नेपालमा सुगौली सन्धीपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरि तीन तरिकाले नेपाली विभिन्न देशमा छरिएर रहेका छन् । विभिन्न कारण स्वरुप नेपाली जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैली मार्फत नेपाललाई विश्वमा चिनाउन सकिने मन्त्री गुरुङले बताउनुभयो ।उहाँले खास गरि कला संस्कृति नै मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्त गर्ने हुँदा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ जस्ता रियालिटी शोले ठुलो सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । “हामी जहाँ भएपनि नेपाली कला संस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रमलाई महत्व दिन्छ, र आगामी दिनमा पनि दिने छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले केहि कारणबस सिमाना छुट्टीएपनि नेपाली संस्कृति, संस्कार र भाषाले हामी सबै नेपालीलाई एकतामा बाँध्ने गरेको बताउनुभयो ।

अमेरिकास्थित भुटानी नेपालीहरुको सेवामुलक सामाजिक संस्था इन्ट्रा फाउन्डेसनद्धारा उत्पादित गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ तीन वर्षअघि शुरु भएको हो । हाल यी दुबै रियालिटी शोका सिजन–२ नेपाल टेलिभिजनमार्फत प्रशारण भइरहेको छ ।

फाउन्डेशनका कार्यकारी निर्देशक चुडामणि भटट्राईका अनुसार संसारभर छरिएका नेपाली म्ुुलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली साँस्कृतिक पहिचानलाई विश्वभर प्रबद्र्धन गर्ने कार्यक्रमको उदेश्य रहेको छ । दुबै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई हाल १६ देश प्रतिभा उत्कृष्ट १८ को सुचीमा प्रवेश गरेका छन् । “हामी नेपाली संसारका जुनसुकै भुभागमा पुगेपनि आफ्नो मौलिक कला–संस्कृति र भाषा बोकि हिँडेका हुन्छौं’, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो, ‘त्यही भाषा र संस्कृतिको धागोमा बाँधिएर आज संसारभरका नेपालीहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको प्लाटफर्ममा आबद्ध भएका छौं ।’

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पना रहेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहिबार र शुक्रबार साँझ र ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । दुबै रियालिटी शोको प्रथम हुनेलाई जनही १÷१ करोड रुपैया, दोस्रोलाई ३०÷३० लाख, तेस्रो हुनेलाई १०÷१० लाख रुपैया र उत्कृष्ट दशमा पर्ने सहभागीले जनही ३ लाख रुपैया पुरस्कार राशी प्राप्त गर्नुहुने बताइएको छ ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *