बेलायतमा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक कार्यक्रम सम्पन्न

बेलायतमा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक कार्यक्रम सम्पन्न

लन्डन । नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टर, द एक्सन ग्रुप र भिजन संसारको संयुक्त आयोजनामा “विदेशमा नेपाली चलचित्रको विकास र विस्तार” विषयक विशेष छलफल कार्यक्रम बेलायतमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल र बेलायतमा नेपाली सिनेमाको सम्भावना, प्रवर्द्धन, विकास, विस्तारका अवस्था, त्यससँग सम्बन्धित समस्या, चुनौतीहरू र सम्भावित समाधानका उपायहरूबारे गहिरो छलफल भएको थियो।

कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्र उद्योगसम्बन्धी महत्वपूर्ण तथ्याङ्क प्रस्तुत गर्दै चलचित्र क्षेत्रमा लगानीका लागि उत्प्रेरणादायी सन्देश दिएका थिए। निर्देशक दिपेन्द्र लामाले भने, “विदेशी लगानी र विदेशबाट हुने रिकभरी (रिटर्न) नेपाली चलचित्रका लागि अमृत समान हो।”

नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले वर्तमान चलचित्रको अवस्थाबारे विश्लेषण गर्दै नेपाली सिनेमा मनदेखि माया गर्न सबैलाई आग्रह गरे।

निर्देशक समाजका महासचिव अरुण कुमार प्रधानले विदेशमा फिल्म फेस्टिभल गर्नुको औचित्य प्रस्ट्याउँदै यस्तो कार्यक्रमले नेपाली चलचित्रप्रेमीहरूलाई एउटै थलोमा भेला गराई सिनेमा बुझाउन, प्रवर्द्धन गर्न र गम्भीर बहस गर्न सक्ने अवसर दिने बताए। उनले हालै स्कटल्याण्डमा सम्पन्न निफ २०२५ को पनि समीक्षात्मक टिप्पणी गरे।

नेपालबाट सहभागी भएका चलचित्रकर्मीहरूले बेलायतमा नेपाली चलचित्रको बजार विस्तार भइरहेको जनाउँदै सम्भावनाहरू पहिल्याउने विषयमा जोड दिए। यता बेलायतवासी चलचित्रकर्मी शशी थापा सुब्बाले भने, “नेपालबाट आउने चलचित्रकर्मीहरूले यहाँ रहेका नयाँ कलाकारहरूमा पनि लगानी गर्नुपर्छ, तालीम दिनुपर्छ र सिनेमा क्षेत्रमा लाग्न चाहनेहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरू आयोजना गर्नुपर्छ।”

उनले यसले बेलायतमा आत्मविश्वास बढाउने र लगानीको वातावरण तयार पार्न सहयोग गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमको संचालन चलचित्रकर्मी मनिष श्रेष्ठले गरेका थिए भने निर्देशक समाज बेलायत च्याप्टरका अध्यक्ष सनम कुमार बैराग कार्यक्रमका सभापति रहेका थिए।

फ्लोर ओपन सेसनमा बेलायतका चलचित्रकर्मीहरूको जिज्ञासामा नेपालबाट गएका प्रतिनिधिहरूले जवाफ दिएका थिए। बेलायतमा नेपाली चलचित्र माया गर्ने सहभागीहरूले सिनेमा क्षेत्रप्रति उपयोगी सुझावहरू पनि दिएका थिए।

त्यहाँका चलचित्रकर्मीहरूले बताए अनुसार, प्रायः बेलायतमा आदिवासी जनजाति कार्यक्रम, फिल्म प्रदर्शन र पुरस्कार वितरण हुने गरे पनि यस्तो खालको गम्भीर छलफलले नेपाली चलचित्र, भाषा र संस्कृतिमा काम गर्नेहरूका लागि नयाँ उपलब्धि भएको महसुस गराएका थिए।

कार्यक्रममा इनास बेलायतका अध्यक्ष सन्जय कडेल, अन्तर्राष्ट्रिय लाखे नाचका प्रवर्द्धक बिनोद चिपालु, चलचित्र ‘लाखे आजु’ का निर्माता लगायत चलचित्रप्रेमी कलाकार, निर्माता र चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले चाँडै बेलायतमा रहेका नेपाली चलचित्रकर्मीहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू संचालन गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, गत १९ जुलाईमा स्कटल्याण्डमा सम्पन्न निफ २०२५ मा सहभागी हुन नसकेका चलचित्रकर्मीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   9   =  

Protected by Spam Master