केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता

केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता

काठमाडौं, ३ वैशाख । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी), सिनामंगलले मस्तिष्कसम्बन्धी जटिल समस्या भएकी ५२ वर्षीया एक महिलाको सफल उपचार गरेको छ । केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा.अरुण पौडेलका अनुसार ती महिलालाई तीव्र टाउको दुखाइपछि बेहोस अवस्थामा राति अस्पताल ल्याइएको थियो । प्रारम्भिक परीक्षणका क्रममा गरिएको सिटी स्क्यानमा मस्तिष्कमा रगत जमेको देखिएको थियो । थप जाँचका लागि गरिएको सिटी एन्जियोग्राफीमा मस्तिष्कका विभिन्न भागमा तीनवटा एन्युरिज्म अर्थात् रक्तनली फुलेको अवस्था देखिएको थियो, जसमा एउटा फुटिसकेको थियो ।

“बिरामीको अवस्था गम्भीर भएकाले तत्काल क्याथल्याबमा लगेर फुटेको एन्युरिज्मलाई ‘कोइलिङ’ प्रविधिबाट उपचार गरियो,” डा. पौडेलले भने ।

बिरामीको अवस्था स्थिर भएको केही समयपछि फेरि बाँकी दुईवटा बेलुन अर्थात् एन्युरिज्मको विशेष प्रकारको फ्लो डाइभर्टर हालेर उपचार सुरु गरियो । दुईवटा बेलुनमध्ये एउटा आँखामा रगत आपूर्ति गर्ने नशाबाट आएको थियो । त्यसैले त्यसको खुल्ला शल्यक्रिय गर्न मिल्दैनथ्यो, किनकि त्यसो गर्दा आँखाको ज्योति गुम्नसक्थ्यो । त्यसपछि डाक्टरहरूले फ्लो डाइभर्टर नामक विशेष प्रकारको स्टेन्ट प्रयोग गरेर नयाँ नशा निर्माण गरे । यो उपचारपछि रगत आपूर्ति सहज हुँदै गयो र महिलाले नयाँ जीवन पाईन् । उपचारपछि अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरहरुको भनाइ छ । चेतनाको स्तर पनि निकै राम्रो हुँदै गएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यो प्रविधि नेपालमा नभित्रिँदासम्म मष्तिष्कमा रगत जमेको अवस्थामा खुल्ला शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर, यस्ता धेरै अवस्थामा खुल्ला शल्यक्रिया गर्न धेरै गाह्रो हुन्थ्यो । त्यसका लागि कि त देशबाहिर सिंगापुर, नयाँदिल्ली वा अमेरिका लैजानुपर्ने अवस्था थियो कि ज्यान जोखिममा पारेर खुल्ला शल्यक्रिया गर्नु पर्दथ्यो । तर, अहिले केएमसीले भित्र्याएको न्युरोइन्टरभेन्सनजस्तो आधुनिक प्रविधिपछि यस्ता रोगको उपचार एकदमै सहज भएको छ । यो प्रविधिअनुसार कुनै ठूलो चिरफारबिना नै कोइलिङ वा स्टेन्टबाट उपचार गरिन्छ ।

नेपाली कांग्रेसका नेता डा.सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेजमा अहिले विशेष सुविधायुक्त न्युरो केन्द्रित क्याथल्याब छ । उपचार गर्ने डाक्टरहरू पनि विदेशबाट यही विषयमा विशेषज्ञता हासिल गरेर आएका छन् । त्यसैले मष्तिष्क, मष्तिष्कका रक्तनली र मष्तिष्कघात सम्बन्धी सम्पूर्ण उपचार सेवा केएमसीमा उपलब्ध छ ।

सुनसरीको गढी गाउँपालिका–१ निवासी अशोककुमार चौधरीकी ५२ वर्षीया पत्नीमा देखिएको उक्त समस्या समयमै पहिचान गरी ‘कोइलिङ’ तथा ‘फ्लो डाइभर्टर’ प्रविधिबाट सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   5   =  

Protected by Spam Master