नेत्रावतीको माध्यामिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

नेत्रावतीको माध्यामिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

धादिङबेशी,७ जेष्ठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका अन्तर्गतका पाँचवटै माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा करिब ३५० जना विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ ।

स्वास्थ्य शाखाका अनुसार पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीहरूमा मानसिक तनाव, भावनात्मक असन्तुलन, सामाजिक दबाब, एक्लोपन तथा आत्महत्यासम्बन्धी जोखिमपूर्ण अवस्था बढ्दै गएको सन्दर्भमा विद्यालयस्तरबाटै मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, समझदारी र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको महत्व, तनाव तथा भावनाको व्यवस्थापन, आत्मसम्मान विकास, सहयोग खोज्ने व्यवहार, आत्महत्या रोकथामका उपाय तथा मनोसामाजिक सहयोग सम्बन्धी विषयमा अभिमुखीकरण गरिएको थियो । किशोरावस्थामा देखिने मानसिक तथा भावनात्मक परिवर्तनलाई स्वाभाविक रूपमा बुझ्दै समस्या लुकाउनुभन्दा समयमै साझा गरेर उचित सहयोग लिनुपर्ने सन्देशसमेत दिइएको थियो ।

कार्यक्रमलाई प्रभावकारी तथा सहभागितामूलक बनाउन मनोसामाजिक परामर्शकर्ताको सहभागितासहित अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । सो क्रममा विद्यार्थीहरूलाई आफ्ना भावना, अनुभव तथा मनोवैज्ञानिक अवस्थाबारे खुला रूपमा अभिव्यक्ति दिन प्रेरित गरिएको थियो ।

मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्राप्त जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीहरूले मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, समयमै परामर्श तथा आवश्यक सेवामा पहुँचको महत्वबारे सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यप्रति रहेका भ्रम, संकोच तथा नकारात्मक धारणाको अन्त्य गर्दै विद्यालय र समुदायस्तरमा सहयोगी तथा संवेदनशील वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य शाखा प्रमुख खगेन्द्र प्रसाद जोशीका अनुसार गाउँपालिकाले आगामी दिनमा पनि किशोरकिशोरीहरूको मानसिक तथा मनोसामाजिक स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  फेवातालमा जेठ १८ गते 'तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता' हुने, तयारी तीव्र
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =