फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’

फोहोर व्यवस्थापन, महिला सिर्जनशीलता र आत्मनिर्भरताको उदाहरण
बालकुमारी पौडेल (तारा)
पोखरा ।
पहिले घरको कुनामा थन्किने पुराना पत्रपत्रिका अहिले पोखरा र आसपासका बालबालिकाको हातमा सिसाकलम बनेर पुगिरहेका छन् । फालिने कागजलाई आम्दानीको स्रोतमा बदल्ने पोखराका पाँच महिलाको प्रयासले फोहोर व्यवस्थापन, महिला उद्यमशीलता र वातावरण संरक्षणलाई एउटै सूत्रमा बाँधेको छ ।
नेपालका अधिकांश सहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कागजको बढ्दो प्रयोगसँगै पुनः प्रयोग गर्न सकिने सामग्री ठूलो परिमाणमा फोहोरमा परिणत भइरहेका छन् । यस्तै अवस्थामा पोखराका पाँच महिलाले पुराना पत्रपत्रिकालाई वातावरणमैत्री सिसाकलममा रूपान्तरण गर्दै फोहोर व्यवस्थापनलाई आयआर्जन र रोजगारीसँग जोडेका छन् ।
पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन तालिमबाट जन्मिएको यो उद्यम अहिले महिला आत्मनिर्भरता र स्थानीय उत्पादन प्रवद्र्धनको उदाहरण बनेको छ । ‘पोख्रेली सिसाकलम’ ले दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्नुका साथै समुदायमा फोहोर व्यवस्थापनप्रति सकारात्मक सन्देश पनि फैलाएको छ ।
पुराना पत्रपत्रिका तथा कागज पुनः प्रयोग गरेर वातावरणमैत्री सिसाकलम उत्पादन गर्ने यो अभियान पोखरा महानगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने शान्ति अधिकारी, विमला देवी भण्डारी अधिकारी, सिर्जना तिवारी, गीता सुवेदी र पद्मा पौडेल आचार्यको सामूहिक प्रयासबाट अघि बढिरहेको छ ।

तालिमबाट उद्यमसम्म
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक र प्राविधिक सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा रिसाइक्लिङ र अपसाइक्लिङ परियोजनाअन्तर्गत फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा महानगरपालिकाका ३३ वटै वडाका १ सय ३६ टोल विकास संस्थाका ४ हजार ८० सहभागीलाई विसं २०८१ पुसदेखि चैतसम्म तीन चरणमा प्रशिक्षण दिइएको थियो ।
फोहोर वर्गीकरण, पुनः प्रयोग र आयआर्जनका सम्भावनाबारे तालिममा जानकारी दिइएको थियो । यही क्रममा शान्ति अधिकारीले ‘पेपर टु पेन्सिल’ अर्थात् पुराना पत्रिकाबाट सिसाकलम बनाउने व्यावसायिक अवधारणा प्रस्तुत गरिन् । सहभागीमध्ये उनको अवधारणा उत्कृष्ट व्यावसायिक योजनाका रूपमा छनोट भयो ।
त्यसपछि पाँच महिलाले मिलेर गत वर्ष जेठको पहिलो सातादेखि ‘पोख्रेली सिसाकलम’ उत्पादन सुरु गरे । उद्यम सञ्चालनका लागि कोइकाले करिब ७ लाख ३० हजार रुपैयाँ बराबरको रोलिङ मेसिन, साइज कट मेसिन र ड्रायर उपलब्ध गरायो । पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रबाट ७० हजार रुपैयाँ सहयोग प्राप्त भयो ।
यसका अतिरिक्त महिलाहरूले आफ्नै श्रम, समय र व्यक्तिगत लगानी पनि व्यवसायमा खर्च गरेका छन् । सुरुवाती चरणमा प्राविधिक कठिनाइ आए पनि अभ्यास र अनुभवसँगै अहिले उत्पादन व्यवस्थित रूपमा अघि बढिरहेको उनीहरू बताउँछन् ।

सिसाकलम बन्ने प्रक्रिया
सिसाकलम उत्पादनका लागि आवश्यक पुराना पत्रपत्रिका विद्यालय, संघसंस्था, समुदाय र कबाडीबाट संकलन गरिन्छ । घरघरमा पढेर थन्किएका पत्रिका पनि उनीहरूले खरिद गर्ने गरेका छन् ।
संकलित पत्रिकालाई निश्चित आकारमा नापेर काटिन्छ । त्यसपछि दुई मिलिमिटर मोटाइको लिड राखेर पत्रिकालाई सावधानीपूर्वक बेरिन्छ । बेर्दा पत्रिकाका तह एकआपसमा नटाँसिने गरी मिलाइन्छ । एकै पटक १० देखि १५ वटासम्म सिसाकलमको लिड बेर्न सकिन्छ भने एक जनाले दैनिक करिब पाँच सय वटासम्म लिड तयार गर्न सक्छन् ।
त्यसपछि रोलिङ मेसिनमार्फत सिसाकलमलाई अन्तिम आकार दिइन्छ । मेसिनबाट निस्किएको सिसाकलमलाई दुई दिन ओसिलो ठाउँमा राखेर सुकाइन्छ । त्यसपछि थप ३ देखि ४ दिन घाममा सुकाइएपछि अन्तिम चरणमा तिखारेर आवश्यक आकारमा काटिन्छ । त्यसपछि मात्रै उत्पादन बजारका लागि तयार हुन्छ ।
यी सिसाकलम सामान्य बजारमा पाइने ‘सार्पनर’ ले नै तिखार्न सकिन्छ । हाल ‘पोख्रेली सिसाकलम’ अन्तर्गत कालो र रंगीन दुवै प्रकारका सिसाकलम उत्पादन भइरहेका छन् ।

विमलाको संघर्ष र सफलताको यात्रा
उद्यमी विमलादेवी भण्डारी अधिकारीको व्यावसायिक यात्रा संघर्ष, धैर्य र आत्मविश्वासले भरिएको छ । उद्यममा संलग्न हुनुअघि उनी सानो व्यवसाय सञ्चालन गर्थिन् । श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएपछि साना छोराछोरीको जिम्मेवारी र व्यवसाय दुवै सम्हाल्नु उनका लागि चुनौतीपूर्ण थियो ।
तर उनले एक्लैले पसल सञ्चालन गर्दै छोराछोरी हुर्काइन् । दुई वर्षपछि श्रीमान्ले जापान बोलाए । छोराछोरीलाई बुबाआमाको रेखदेखमा छोडेर विदेश गइन् । त्यहाँ चार वर्ष मेहनत गरेपछि उनी स्वदेश फर्किइन् ।
नेपाल फर्किएपछि आफ्नै देशमा केही नयाँ काम गर्ने इच्छा जाग्यो । त्यही समयमा उनलाई ‘पोख्रेली सिसाकलम’ उद्योगसँग जोडिने अवसर मिल्यो । पाँच जना साथीहरूसँग मिलेर उनले सिसाकलम उत्पादनको व्यवसाय सुरु गरिन् । अहिले उनीहरू उत्पादनसँगै ब्रान्डिङ र प्याकेजिङमा पनि विशेष ध्यान दिइरहेका छन् ।
विमलाका अनुसार परिवारको सकारात्मक सहयोगले व्यवसाय अघि बढाउन सहज भएको छ । उद्यममा जोडिएपछि उनको जीवनमा पनि परिवर्तन आएको छ । पहिले फुर्सदमा बित्ने समय अहिले उत्पादन र व्यवस्थापनमा खर्च भइरहेको छ । घरखर्चमा सहयोग पुगेको छ भने आफ्नै आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरूमाथि निर्भर हुनुपर्ने अवस्था हटेको छ ।
उनको अनुभवमा आर्थिक आत्मनिर्भरता केवल आम्दानीको विषय मात्र होइन, आत्मविश्वास र सम्मानसँग पनि जोडिएको विषय हो । यही कारण उद्यमबाट प्राप्त सफलताले परिवारमा समेत सकारात्मक प्रभाव पारेको छ ।

आर्थिक आत्मनिर्भरताको आधार
‘पोख्रेली सिसाकलम’ ले वातावरणीय लाभसँगै स्थानीयस्तरमा आर्थिक अवसर पनि सिर्जना गरेको छ । साधारण सिसाकलम १० रुपैयाँमा बिक्री हुन्छ भने रंगीन तथा डिजाइनयुक्त सिसाकलमको मूल्य १२ देखि २५ रुपैयाँसम्म पर्छ ।
व्यक्ति वा संस्थाको नाम, लोगो तथा विशेष सन्देश अंकित सिसाकलम उत्पादन गरिने भएकाले यसको माग क्रमशः बढिरहेको उद्यमीहरू बताउँछन् । उनीहरूले दैनिक औसत १ हजार ५ सय वटा तथा मासिक करिब १७ हजार सिसाकलम उत्पादन गर्न सक्ने क्षमता विकास गरेका छन् । उत्पादनका लागि एक वर्षमा करिब ४ सय ६० किलो पुराना पत्रपत्रिका पुनः प्रयोग गरिएको छ ।
हाल उनीहरूको प्राथमिकता आम्दानीभन्दा पनि ‘पोख्रेली सिसाकलम’ लाई दिगो स्थानीय ब्रान्डका रूपमा स्थापित गर्नु रहेको छ । अहिले सिसाकलम पोखराका स्टेशनरी, विद्यालय, होटल तथा विभिन्न संस्थामार्फत बिक्री भइरहेको छ । काठमाडौं, हेटौंडा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र मकवानपुरलगायत जिल्लामा समेत यसको बजार विस्तार भएको छ ।
करिब ५० नियमित ग्राहक छन् । केही ग्राहकले पुनः बिक्रीका लागि सिसाकलम लैजान्छन् भने केहीले आफ्नै प्रयोगका लागि खरिद गर्छन् । उद्यमीहरू सामाजिक सञ्जाल, वेबसाइट, मेला–महोत्सव तथा विद्यालयस्तरीय कार्यक्रममार्फत उत्पादनको प्रचारप्रसार गरिरहेका छन् । हप्ताको एक–दुई दिन उनीहरू आफैं बजार पुगेर उत्पादनको मार्केटिङ पनि गर्छन् ।
उद्यममा संलग्न पाँचै जना महिला यस कार्यमा लाग्नुअघि गृहिणी थिए । परिवारको सहयोग र प्रोत्साहनका कारण उनीहरू निरन्तर सक्रिय रहन सकेका छन् । आफ्नै श्रम र सीपबाट आम्दानी गर्न थालेपछि आत्मविश्वास, खुसी र आत्मनिर्भरताको भावना बढेको उनीहरू बताउँछन् ।
उनीहरूले उत्पादनमात्र होइन, समुदायमा फोहोर व्यवस्थापनसम्बन्धी चेतना फैलाउने काम पनि गरिरहेका छन् । हरेक महिनाको दुई गते समुदायमा प्लास्टिकजन्य फोहोर संकलन गरेर रिसाइकलमा पठाउने कामसमेत गर्दै आएका छन् । प्लास्टिक बिक्रीबाट प्राप्त रकम महानगरलाई तिर्नुपर्ने फोहोर शुल्कमा उपयोग हुने गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको लक्ष्य
उद्यमीहरूको अबको लक्ष्य ‘पोख्रेली सिसाकलम’ लाई व्यवस्थित ब्रान्डिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु हो । हाल एक उद्यमीको घरको बरन्डा र स्टोररुममा सञ्चालन भइरहेको उद्योगलाई उपयुक्त स्थानमा विस्तार गर्ने योजना उनीहरूको छ । आधुनिक मेसिन र सरकारी सहयोग प्राप्त भए उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने उनीहरूको विश्वास छ । उनीहरू भन्छन्, ‘नेपाललाई पेन्सिल उत्पादनमा आत्मनिर्भर बनाउने र आयात घटाउने हाम्रो सोच छ ।’
उनीहरूले आर्थिक रूपमा कमजोर तथा अवसरको खोजीमा रहेका महिलालाई उद्यमशीलतामा जोडिन आग्रह पनि गरेका छन् । व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई महत्व दिँदै विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क सिसाकलम वितरण गर्दै आएका छन् । बजार विस्तारसँगै उनीहरू तालिममार्फत इच्छुक र आर्थिक अवस्था कमजोर महिलालाई पनि उद्यमशीलतामा जोड्ने योजना बनाइरहेका छन् ।
‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन।
यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो ।
समाज र विद्यालयको साथ
‘पोख्रेली सिसाकलम’ लाई फोहोर व्यवस्थापन, वातावरण संरक्षण र महिला आत्मनिर्भरतासँग जोडिएको प्रशंसनीय अभियानका रूपमा नागरिक समाज कास्कीका संस्थापक संयोजक तथा वातावरण महाअभियानका संयोजक रामबहादुर पौडेलले लिएका छन् ।
उनका अनुसार पढिसकेका पत्रिका जथाभावी फाल्ने बानी सुधारेर पुनः प्रयोगमार्फत उत्पादनमा जोड्नु सकारात्मक अभ्यास हो । उनी भन्छन्, ‘महिलाले समूहमा संगठित भएर सिर्जनशील काम गरेका छन् । यस्ता प्रयासलाई स्थानीय सरकार, व्यवसायी र नागरिक समाजले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्छ ।’
उनले विद्यालय स्तरमै बालबालिकालाई वातावरणमैत्री सामग्री प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताए । प्रारम्भिक लेखन तथा खेस्रा तयार गर्न यस्ता सिसाकलम उपयोगी हुन सक्ने उनको विश्वास छ ।
विद्यालयमा बढ्दो आकर्षण

पोखरा–२ स्थित मुना मन्टेश्वरीकी प्रिन्सिपल मौजा गुरुङले विद्यालयमा करिब एक वर्षदेखि ‘पोख्रेली सिसाकलम’ प्रयोग भइरहेको बताइन् । सुरुमा वातावरणमैत्री सोचका कारण प्रयोग सुरु गरिएको भए पनि पछि यसको गुणस्तरले विद्यार्थी र अभिभावकलाई आकर्षित गरेको उनको अनुभव छ ।
उनी भन्छिन्, ‘अभिभावकले विद्यालयमा बच्चाको अक्षर राम्रो भएको तर घरमा त्यस्तो नभएको बताउन थालेपछि हामीले घरमा पनि यही सिसाकलम प्रयोग गर्न सुझाव दिएका छौं ।’

उनका अनुसार पेपरबाट बनेको भएकाले यो चिप्लिँदैन, समात्न सहज हुन्छ र लिड गाढा भएकाले लेखाइ स्पष्ट देखिन्छ । आकर्षक प्याकेजिङ र रंगीन डिजाइनले बालबालिकालाई थप आकर्षित गरेको छ ।
गुरुङका अनुसार नेपाली बजारमा ‘मेड इन नेपाल’ स्टेसनरी सामग्रीको अभाव छ । ‘पोख्रेली सिसाकलम’ ले त्यो खालीपन पूरा गर्न सक्ने सम्भावना बोकेको छ । स्वदेशी उत्पादनको मागअनुसार अघि बढ्न सके यसको भविष्य उज्ज्वल रहेको उनको विश्वास छ ।
पोखरा–२१ की गीता कार्कीले पनि करिब एक वर्षदेखि ‘पोख्रेली सिसाकलम’ प्रयोग गर्दै आएकी छन् । सुरुमा उत्सुकतावश खरिद गरेको सिसाकलमले गुणस्तर, लेखाइ र वातावरणमैत्री पक्षका कारण आफूलाई आकर्षित गरेको उनी बताउँछिन् ।
उनका अनुसार काठका सिसाकलमभन्दा फरक अनुभव दिने यो उत्पादन घरका भाइबहिनीले समेत मन पराएका छन् । पोखराको एक निजी विद्यालयमा अध्यापन गर्दै आएकी कार्कीले आफ्ना विद्यार्थीलाई पनि यो सिसाकलम प्रयोग गर्न प्रेरित गर्दै आएकी छन् । अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारस्वरूप सिसाकलम प्रदान गर्ने गरेको उनले बताइन् ।
उनी भन्छिन्, ‘विद्यार्थीले यो कहाँ उत्पादन हुन्छ भनेर चासो राख्छन् । आफूहरूले पनि प्रयोग गर्न चाहेको बताउँछन् ।’ उनका अनुसार ‘पोख्रेली सिसाकलम’ वातावरणमैत्री मात्र होइन, गुणस्तरीय पनि छ । फालिएका कागजको पुनः प्रयोगबाट बनेका यस्ता सामग्रीले वातावरण संरक्षणसँगै महिलाका लागि आयआर्जनको अवसर पनि सिर्जना गरेका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले पनि उत्पादनको गुणस्तरप्रति सकारात्मक धारणा रहेको देखाउँछ ।
बालमन्दिर माध्यमिक विद्यालय, नदीपुरमा कक्षा ८ मा अध्ययनरत समीक्षा चापागाईंले पनि करिब एक वर्षदेखि ‘पोख्रेली सिसाकलम’ प्रयोग गर्दै आएकी छन् । दिदीले उपहारस्वरूप दिएपछि उनले यसको प्रयोग सुरु गरेकी हुन् ।

उनका अनुसार अन्य सिसाकलम चाँडै भाँचिने र राम्रोसँग तिखार्न गाह्रो हुने समस्या हुन्थ्यो । तर पेपर पेन्सिल टिकाउ र प्रयोगमा सहज लागेको छ । उनी भन्छिन्, ‘यो सिसाकलम राम्रोसँग तिखारिन्छ र लामो समयसम्म टिक्छ ।’
उनका अनुसार यसले लेखाइ सफा र आकर्षक बनाउन सहयोग गरेको छ । वातावरणमैत्री हुनुका साथै प्रयोगमा सहज भएकाले उनी यसलाई अन्य सिसाकलमभन्दा फरक र विशेष मान्छिन् । उनका साथीहरूले पनि यो सिसाकलम मन पराएर ल्याइदिन आग्रह गर्ने गरेको उनले सुनाइन् ।
स्थानीय सरकारको सहयोग
कोइका र युएनडिपीको साझेदारीमा सञ्चालित जिसिआरयु परियोजनामार्फत महिलाहरूले सञ्चालन गरेको फोहोर व्यवस्थापन अभियानले महानगरलाई उत्साहित बनाएको पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्र तथा पर्यटन प्रवद्र्धन कार्यक्रम प्रमुख नवराज अधिकारी बताउँछन् ।
उनका अनुसार महिलाले ‘फोहोरलाई मोहोरमा बदल्ने’ अवधारणासहित सुरु गरेको अभियानले फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको छ । उनी भन्छन्, ‘यो अभियानले फोहो

र व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ । वातावरणमैत्री उत्पादनमार्फत महिलाले उद्यमशीलताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।’
महानगरले ‘मेकिङ पोखरा, मेड इन पोखरा’ कार्यक्रममार्फत स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ र प्रवद्र्धनमा सहयोग गरिरहेको छ । साथै प्रविधि हस्तान्तरण, मेन्टरिङ, तालिम तथा वित्तीय र प्राविधिक सहयोगका कार्यक्रम पनि सञ्चालन गरिरहेको उनले बताए । महिला उद्यमीलाई सहुलियत दरमा कर्जा प्रवाह, व्यवसाय विस्तार र सीप विकासका क्षेत्रमा पनि महानगरले काम गरिरहेको अधिकारीको भनाइ छ ।
उनका अनुसार ‘पोख्रेली सिसाकलम’ जस्ता वातावरणमैत्री उत्पादनले पोखरालाई सफा, सुन्दर र आत्मनिर्भर बनाउने अभियानमा सकारात्मक योगदान पु¥याएका छन् ।

महिला उद्यम, रिसाइकल र दिगोपन
महिला सीप विकास संस्था पोखराकी कार्यकारी निर्देशक रामकली खड्काले फोहोर कागजबाट सिसाकलम बनाउने प्रयासलाई महिला आर्थिक सशक्तीकरण, वातावरण संरक्षण र स्थानीय उद्यमशीलताको सकारात्मक उदाहरणका रूपमा लिएकी छन् ।
खड्काका अनुसार महिलाले उद्यम सुरु गर्दा परिवारको सहयोग नपाउने, आर्थिक स्रोतको अभाव हुने, बजार खोज्न कठिन हुने र समाजले साना उत्पादनमूलक कामलाई कम मूल्यांकन गर्ने जस्ता चुनौती सामना गर्नुपर्छ । उनी भन्छिन्, ‘उत्पादन बनाएर मात्र पुग्दैन । ग्राहकसम्म पुग्ने क्षमता, गुणस्तर, व्यवहार र निरन्तर बजार खोजी पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’
उद्यमको सुरुआती चरणलाई उनले सानो बच्चाको हेरचाहसँग तुलना गरिन् । उनका अनुसार सुरुवातमा धेरै मेहनत, धैर्य र समर्पण आवश्यक हुन्छ । एउटै क्षेत्रमा निरन्तर काम गर्दै गुणस्तर कायम राख्न सके मात्र स्थायी पहिचान स्थापित गर्न सकिन्छ । उनी भन्छिन् कि धेरै महिलालाई परिवारकै समर्थन प्राप्त गर्न कठिन हुन्छ । घरको जिम्मेवारी, सामाजिक हेपाइ र आर्थिक अभाव उद्यमशीलताका प्रमुख चुनौती हुन् ।
उनका अनुसार उद्यमको सफलताका लागि निरन्तरता, नवप्रवर्तन, सीप, बजार र संस्थागत सहयोग अपरिहार्य छन् । सहुलियतपूर्ण ऋण, सरल कर प्रणाली, सहज नवीकरण प्रक्रिया, कच्चा पदार्थमा सहुलियत तथा बजार व्यवस्थापनमा सहयोग उपलब्ध भए यस्ता उद्यम अझ दिगो बन्न सक्छन् ।

वातावरणविद् कुशल गुरुङका अनुसार ‘पोख्रेली सिसाकलम’ केवल पुनः प्रयोग गरिएको कागजबाट बनेको उत्पादन मात्र होइन, फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्थानीय आर्थिक विकासलाई एकसाथ जोड्ने चक्रीय अर्थतन्त्रको व्यावहारिक उदाहरण हो ।
उनले परम्परागत काठका सिसाकलम उत्पादनका लागि हुने रुख कटानले वन विनाश, जैविक विविधता र कार्बन अवशोषण क्षमतामा असर पु¥याउन सक्ने बताए । उनका अनुसार वन क्षेत्रले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले रुख संरक्षणसँग जोडिएका यस्ता प्रयासलाई सामान्य व्यवसायका रूपमा मात्र हेर्नु उचित हुँदैन । गुरुङले फालिने अवस्थामा पुगेका पत्रपत्रिकालाई पुनः प्रयोग गरेर सिसाकलम उत्पादन गर्नु दोहोरो लाभको अभ्यास भएको बताए ।
यसबाट फोहोरको मात्रा घट्नुका साथै नयाँ कच्चा पदार्थको माग कम हुन्छ र आर्थिक मूल्य पनि सिर्जना हुन्छ । उनका अनुसार फोहोर जहाँ उत्पादन हुन्छ, त्यहीँ व्यवस्थापन गर्नुपर्छ । नेपालको फोहोर व्यवस्थापन प्रणाली अझै पनि ‘संकलन गर, ढुवानी गर र ल्यान्डफिलमा फाल’ भन्ने सोचमा आधारित रहेको उनले बताए । गुरुङ भन्छन्, ‘फोहोर आफैंमा एउटा स्रोत हो । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भने वातावरण संरक्षणसँगै आर्थिक अवसर पनि सिर्जना हुन्छ ।’
उनका अनुसार समुदायस्तरमै पुनः प्रयोग, पुनर्चक्रण र अपसाइक्लिङ गर्न सके लागत घट्नुका साथै स्थानीय रोजगारी पनि सिर्जना हुन्छ । यस्ता अभ्यासलाई दिगो बनाउन नीति, बजेट, प्राविधिक सहयोग र बजार व्यवस्थापन आवश्यक रहेको उनको सुझाव छ ।

हरित अर्थतन्त्र र स्थानीय रोजगारीको आधार
पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत अर्थशास्त्री डा. लेखनाथ भट्टराई ‘पोख्रेली सिसाकलम’ जस्ता उद्यम केवल उत्पादनमूलक गतिविधि मात्र होइनन्, हरित अर्थतन्त्रका व्यावहारिक अभ्यास भएको बताउँछन् । उनका अनुसार प्रयोग भइसकेका सामग्रीको पुनः प्रयोगले वातावरणीय दबाब कम गर्नुका साथै आर्थिक मूल्य पनि सिर्जना गर्छ ।
थोरै लगानी र सामूहिक प्रयासबाट सुरु गर्न सकिने यस्ता उद्यमले स्थानीय रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनी भन्छन्, ‘सहरी क्षेत्रमा बेरोजगारी र गरिबी बढिरहेका बेला यस्ता साना उद्यमले मानिसलाई उत्पादनमूलक काममा जोड्ने र परिवारको आय बढाउने अवसर दिन सक्छन् ।’
उनका अनुसार स्थानीय स्रोतमा आधारित यस्ता उद्यम हरित अर्थतन्त्र र रोजगारीका आधार बन्न सक्छन् । सीप, प्रविधि, इन्क्युबेसन सेवा तथा बीजपूँजीको पहुँचले यस्ता प्रयासलाई दीर्घकालीन बनाउन मद्दत गर्छ ।
स्थानीय तथा प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जनामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । भट्टराईका अनुसार ‘पोख्रेली सिसाकलम’ जस्ता उत्पादनलाई स्थानीय पहिचान र मौलिकतासँग जोडेर ब्रान्डिङ गर्न सके बजार विस्तारको सम्भावना अझ बढ्न सक्छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम
यस्ता उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले उद्योग तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै आएको दाबी गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ‘उद्योगको विकास, प्रदेश समुन्नतिको आधार’ भन्ने संकल्पका साथ स्थानीय स्रोतमा आधारित उद्योग, महिला उद्यमशीलता, ब्रान्डिङ तथा बजारीकरणलाई प्राथमिकता दिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा विपन्न महिलाको आर्थिक सबलीकरणका लागि ‘एक महिलाः एक सीप’ कार्यक्रम सञ्चालन गरी उद्योग स्थापना र बजारीकरणमा सहयोग गर्ने उल्लेख गरिएको छ ।
यो उद्यमले महिलालाई आम्दानीसँगै सीप, आत्मविश्वास र सामूहिक रूपमा काम गर्ने अवसर दिएको छ । उद्यमी शान्ति अधिकारीका शब्दमा, ‘देशमा केही छैन भनेर विदेशिनेभन्दा आफ्नै ठाउँमा साना उद्यम गरेर पनि सफल हुन सकिन्छ ।’ उनीहरूका लागि फोहोर अब फाल्ने वस्तु मात्र होइन, उत्पादन र अवसरको स्रोत बनेको छ ।
कागजका सिसाकलम काठका सिसाकलमभन्दा वातावरणमैत्री विकल्प मानिन्छन् । रिसाइक्लिङसम्बन्धी अन्तर्राष्ट्रिय तथ्यांकका अनुसार एक टन पत्रिका पुनः प्रयोग गर्दा १७ वटा परिपक्व रुख काटिनबाट जोगिन्छ । यद्यपि यो संख्या कागजको प्रकार र प्रयोग गरिएका कच्चा पदार्थअनुसार फरक पर्न सक्छ ।
आवश्यक नीति, बजार र संस्थागत सहयोग प्राप्त भए यस्ता साना तर सिर्जनशील प्रयासले वातावरण संरक्षण, स्थानीय रोजगारी, हरित अर्थतन्त्र र महिला आत्मनिर्भरतामा अझ ठूलो योगदान दिन सक्छन् ।
‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन । यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो । साथै, सिर्जनशील सोच, सामूहिक प्रयास र आत्मनिर्भरताको एउटा अर्थपूर्ण उदाहरण पनि हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21860, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार ०८:४७फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’
समाचार२०८३ असार ५, शुक्रबार १९:३६खेल पत्रकारलाई एआई तालिम
समाचार२०८३ असार ४, बिहीबार १३:४२फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर







