आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् ।

ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ । पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ । दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सकिन्छ । यो झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना रहेको स्थानीय दिलबहादुर तामाङ बताउनुहुन्छ ।

ककनी खोलाको तेस्रो झरना भने खोचभित्र छ । यो झरनामा पुग्नका लागि सहज बाटो पनि छैन । तेस्रो झरना अझ सुन्दर र आकर्षक भए पनि त्यहाँ जान नसकिने तामाङको भनाइ छ । “ककनी खोलाका तीनवटै झरना आकर्षक छन्,” तामाङ भन्नुहुन्छ, “तर भौगोलिक विकटताले पर्यटकको बाक्लो उपस्थिति हुन सकेको छैन ।”

ककनी खोलाको शिरमा ओखलढुङ्गाको प्रख्यात ककनी चम्पादेवी मन्दिर रहेको छ । धार्मिक आस्थासँग समेत जोडिएको तीनछाँगे झरनाको पहिलो र दोस्रो झरनामा जानका लागि गोरेटो बाटो, रेलिङ, विश्रामस्थल, काठेपुललगायतका संरचना निर्माण भएका छन् । तर प्रदेश र स्थानीय सरकारले निर्माण गरेका ती संरचना पनि पूर्ण नरहेको स्थानीय ढकबहादुर सुनुवारले बताउनुभयो । “ककनी गाउँसम्म आउने सडकदेखि झरनासम्म जाने पूर्वाधार अझै थप गर्न सके पर्यटक आकर्षित हुनसक्ने सम्भावना छ,” सुनुवार भन्नुहुन्छ, “ककनी गाउँसम्म आवतजावत गर्ने सडकदेखि झरनासम्म जाने पूर्वाधार अझै थप गर्न सके पर्यटक आकर्षित हुनसक्ने सम्भावना छ ।”

यो पनि पढ्नुहोस् :  वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

झरना नजिकै रहेको ककनी गाउँमा तामाङ र सुनुवार जातिको बाक्लो वस्ती रहेको छ । झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले होमस्टे सुविधासमेत दिँदै आएका छन् । “झरना नजिकै बास बस्ने सुविधायुक्त होमस्टेसमेत व्यवस्था गरेका छौँ,” होमस्टे सञ्चालक नरबहादुर सुनुवार बताउनुहुन्छ, “त्यसैले पर्यटक आवागतम बढाउन जोड दिइरहेका छौँ ।”

यसरी पुग्न सकिन्छ झरना स्थल

जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट झरना क्षेत्रमा करिब तीन घण्टाको दूरीमा पुग्न सकिन्छ । झरना क्षेत्रमा पर्यटक बढे स्थानीयको आर्थिक अवस्थासमेत सुधार हुने होमस्टे सञ्चालक सुनुवारको भनाइ छ ।

भौगोलिक दुर्गमताका बाबजुत प्राकृतिक सुन्दरतामा रमाउनेहरुका लागि तीनछाँगे झरना उपयुक्त गन्तव्य हो । झरना क्षेत्रमा जानका लागि ओखलढुङ्गा सदरमुकामबाट कटुञ्जेको कोषहाट हुँदै ककनी गाउँसम्म बाइक वा जिपमा जान सकिन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   3   =